माघ २३ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव अधिकारमैत्री व्यवस्था नै सरकारको प्राथमिकता भएको बताएका छन् ।
सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मानव अधिकारसँग सबै अधिकारलाई सरकारले उच्च सम्मान गर्दै आएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, “सुशासन, पारदर्शीता, जवाफदेहिता, कानुनको शासनको जगमा मानव अधिकारमैत्री व्यवस्था सुनिश्चित गर्नु सरकारको प्राथमिकता हो ।” उनले मानव अधिकारको सम्मान, संरक्षण र सम्बद्र्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
“नेपालको संविधान, कानुन, आवधिक योजना, सरकारका नीति तथा कार्यक्रम, संस्थागत व्यवस्था सबैको आधारस्तम्भ मानव अधिकार नै हो”, प्रधानमन्त्री प्रचण्डले भने, “मानव अधिकारबिना मानवीय मर्यादा, मूल्यमान्यता र मानव सभ्यताको संरक्षण हुन नसक्ने यथार्थतालाई सरकारले स्वीकार गरेको छ ।”
मानव अधिकारसँग सम्बन्धित अधिकांश अधिकार संविधानको मौलिक हकका समावेश गरिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मानव अधिकारको संरक्षणको जिम्मेवारी,प्रभावकारी अनुगमन र सुपरीवेक्षण गर्ने राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोगलगायत विभिन्न संवैधानिक आयोगको स्थापना भई क्रियाशील रहेको बताए ।
मानव अधिकारको हननमा स्वतन्त्र र सक्षम न्यायपालिकाबाट कानुनी उपचार गर्ने संवैधानिक प्रत्याभूति गरिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “मानव अधिकारको सम्मान, संरक्षण र सम्बद्र्धन गैरसरकारी संस्था, नागरिक समाजसँगको समन्वयात्मक रूपमा मात्र सफल हुने कार्य भएको हुँदा मानव अधिकारको क्षेत्रमा सम्बद्ध क्रियाशील निकायको महत्वपूर्ण भूमिकालाई उपयोग गरी विभिन्न चेतनामूलक कार्यक्रम सशक्त बनाइएका छन् ।”
प्रधानमन्त्रीले मानव अधिकारसँग जोडिएका क्षेत्रमा लगानी अभिवृद्धि गरी जनताको जीवनस्तरमा सुधार्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मानव अधिकारका क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई उच्च कदर गर्ने उद्देश्यका साथ सरकारले मानव अधिकार पुरस्कार कोष स्थापना गर्ने निर्णय गरेको बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







