वेभ तस्विर
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत मनिषा भुजेल चित्रकलाको सीप सिकेपछि उत्साहित छन् । चित्रकलामा रुचि भए पनि सिक्ने अवसर नपाएकी उनी हाल आफैँले चित्र कोर्नसक्ने सक्छन् ।
आफैँले बुनेको बाँसको नाङ्लोमा समेत चित्र बनाएकी उनले पहिलो प्रयासमै राम्रो प्रतिक्रिया पाएको बताए । उनले भने, “चित्र कोर्न पहिल्यैदेखि एकदमै मनपथ्र्यो, सिक्ने अवसर पाएकी थिइन्, अहिले चित्रकलाको सीप सिकेपछि उत्साहित छु ।”
बाँसको नाङ्लोमा कोरेको चित्र गाउँपालिकास्तरीय शैक्षिक प्रदर्शनीमा राख्दा धेरैले राम्रो प्रतिक्रिया दिएको उनको भनाइ छ । उनले भने, “कस्तो राम्रो चित्र बनाएको भनेर धेरैले हौसला दिए, मलाई यसमा लाग्न अझ प्रेरित गरेको छ ।” भुजेलले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको चित्र कोरेका छन् । ।
भविष्यमा चित्रकलालाई निरन्तरता दिने र चित्र बिक्री गरी पढाइ खर्च व्यवस्थापन गर्ने सोच बनाएको भुजेलले बताए । उनले भने, “मैले अब चित्रकलालाई आम्दानीको स्रोत बनाउने सोच राखेको छु ।”
कक्षा ११ मा अध्ययनरत भुजेलले पहिलो महिनावारीको अवस्थालाई चित्रमार्फत चित्रण गरेका छन् । महिनावारी प्राकृतिक कुरा भएकाले लजाउन हुँदैन भन्ने सन्देश दिन सोहीअनुसारको चित्र कोरेको उनले जानकारी दिए। बताए । उनले भने, “महिनावारी भएका बेला लजाउने प्रवृत्ति छ, यो सामान्य कुरा हो लजाउन हुँदैन भन्ने सन्देश दिन चित्र बनाएको छु ।”
कक्षा ११ मा अध्ययनरत दिपक देवकोटाले ऐनापहरा र हात्तीको आकृतिलाई चित्रमार्फत उतारेका छन्। गाउँपालिकाभित्रका पर्यटकीयस्थललाई चित्रमार्फत प्रवद्र्धन गर्न त्यसलाई कागजमा उतारेको उनले बताए । उनले भने, “चित्रकलालाई आम्दानीको स्रोत बनाउने लक्ष्यसहित चित्र बनाउन सिकेको हुँ ।”
उनीहरु जस्तै कक्षा ११ मा अध्ययनरत २० विद्यार्थीलाई चित्रकला सिकाइ तालिम दिइएको छ । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिकाले चित्रकला सिकाइ तालिम प्रदान गरेको हो ।
विद्यार्थीलाई पढाइसँगै सीप सिकाएर आत्मनिर्भर बनाउन यो कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । शिक्षा, युवा तथा खेलकुद शाखामार्फत विद्यार्थीको अतिरिक्त क्रियाकलापलाई उजागर गर्ने र पढ्दै कमाउँदै भन्ने उद्देश्यलाई सार्थकता दिन विद्यालयमा चित्रकला कक्षा सञ्चालन गरिएको चुमानको भनाइ छ ।
सैद्धान्तिक पढाइसँगै व्यावहारिक शिक्षालाई पनि समानान्तररुपमा अघि बढाउने योजनासहित पालिकाको विभिन्न कार्यक्रममध्ये चित्रकलालाई पनि प्राथमिकतामा राखेर कार्यक्रमलाई अघि बढाइएको चुमानले बताए । उनले भने, “चित्रकला सिकाइले विद्यार्थीको कलालाई उजागर गर्नुका साथै विद्यार्थीमा रचनात्मक र सिर्जनात्मक कार्य गर्न प्रेरणा मिल्छ, चित्रकला आम्दानीको स्रोत बन्नसक्छ भनेर यसलाई अगाडि बढाएका हौँ ।”
गाउँपालिकाको वार्षिक कार्यक्रमअनुसार पढ्दै कमाउँदै कार्यक्रममार्फत विद्यालयमा चित्रकला तालिम प्रदान गरिएको प्रशिक्षक पवन नेपालीले बताए । उनले भने,, “पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विभिन्न सीप सञ्चालन भइरहेका छन्, सोहीबमोजिम विद्यार्थीलाई चित्रकला सिकाइएको हो ।”
विद्यार्थीको सक्रिय सहभागिता र सिकाइले उत्साहित बनाएको नेपालीको भनाइ छ । उनले भने, “विद्यार्थीले बनाएको चित्र खरिदका लागि माग आइसकेको छ, यसलाई व्यवस्थित गर्न सकिए चित्रकला आम्दानीको राम्रो माध्यम बन्नेछ ।” उहाँका अनुसार गाउँपालिकाभित्रका अन्य विद्यालयमा पनि चित्रकला प्रशिक्षण सञ्चालन गरिनेछ । विद्यार्थीले सामाजिक हिंसा, गाउँपालिकाभित्रका पर्यटकीयस्थल, समाजमा हुने घटना न्यूनीकरणजस्ता विषयलाई चित्रमार्फत वर्णन गरेका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।…







