पोखरा, फागुन ७
गण्डकी प्रदेश कार्य सम्पादनका आधारमा देशका सात प्रदेशमध्ये तेश्रो नम्बरमा परेका छन् । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा कोशी प्रदेश अब्बल ठहरिएको छ ।
कार्य सम्पादनमा पहिलो भएको कोशी प्रदेशले एक सय अंकमा ३०.८९ अंक ल्याएको छ । आगामी आर्थिक वर्ष २०८१–८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १० वटा सूचकका आधारमा गरेको प्रदेशहरुको मूल्यांकनमा वागमती प्रदेशले २७.२९ अंक प्राप्त गर्दै दोश्रो बन्दा २३.०७ अंक ल्याउँदै गण्डकी प्रदेश तेश्रो भएको हो ।
कार्य सम्पादन मूल्यांकनमा २२.३१ अंक ल्याएको मधेश प्रदेश चौथो, २१.०८ ल्याएको सुदूरपश्चिम प्रदेश पाँचौ, २०.९८ अंक ल्याएको कर्णाली प्रदेश छैटौं र १६.९९ प्राप्त गरेको लुम्बिनी प्रदेश कार्य सम्पादनमा सबैभन्दा कमजोर बन्दै पुछारमा रहेको छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले आव २०७८÷७९ को लेखापरीक्षणबाट औंल्याएको बेरुजु, प्रदेश सरकारको आ.व २०७९–८० को विनियोजित रकम अनुसार खर्च, आव २०७९–८० मा प्रदेशले आफ्नो अधिकार क्षेत्रभित्रको राजस्व परिचालन, आव २०७९–८० को प्रदेश तहको वायुको गुणस्तर सूचकाङ्क, आव २०७९÷८० मा व्यवस्थित वनले ढाकेको क्षेत्रफलमा भएको वृद्धिको अवस्थालाई आधार बनाएर कार्य सम्पादन मूल्यांकन गर्ने गर्दछ । त्यस्तै, प्रदेशले स्थानीय तहलाई प्रदेश कानुन बमोजिम आयोगले तोकेको आधार लागु गरी सशर्त अनुदान प्रदान गरे÷नगरेको र आव २०७९–८० मा सवारी साधन कर वापत बाँडफाँट गरिएको ४० प्रतिशत रकम प्रदेश सरकारले मासिक रुपमा सम्बन्धित स्थानीय संचित कोषमा जम्मा गरे÷नगरेको पनि हेर्ने गर्दछ ।
प्रदेश सरकारले आव २०७९÷८० मा स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानिकरण अनुदानको अनुमानित विवरण स्थानीय तहलाई चैत्र मसान्तभित्र उपलब्ध गराएको वा नगराएको, प्रदेश सरकारले आव २०८१–८२ को आय व्यय प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण २०७९ पुस मसान्तभित्र संघीय अर्थ मन्त्रालयमा पेस गरे÷नगरेको, प्रदेश सरकारले आव २०७९÷८० को बजेट कार्यान्वयनको वार्षिक समिक्षा गरी त्यसको विवरण २०७९ कार्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको पक्ष पनि मूल्यांकन गर्ने गरिएको प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







