राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन


     एभरेस्ट आवाज    
     फागुन २५ गते २०८० मा प्रकाशित




फागुन २५ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६१औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएका छन् ।

सो अवसरमा उनले सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरे ।

राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ ।

समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०८०’ वार्षिक पत्रिका विमोचन गरे । उनले ‘फ्री फल जम्प’ मा प्रथम भएका अमलदार टङ्कबहादुर डाँगी र दोस्रो भएका सेनानी जगनाथ दनैलाई पुरस्कार प्रदान गरे । राष्ट्रपति पौडेलले सेना दिवस समारोहमा ब्याण्ड प्रस्तुत गर्ने भारतीय, बेलायती र अमेरिकी सेनाका टोली प्रमुखलाई सम्झनास्वरुप उपहार प्रदान गरे । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।