पोखरा, फागुन २५
छोरा हुन् वा छोरी, बुबाआमाका लागि दुबै कलेजोका टुक्रा हुन् । जसलाई हुर्काउन आमाबुबाले सारा दुःख बिर्सिन्छन् । तर छोराछोरी ठूला भएपछि बा–आमा बिर्सिन्छन् भन्ने आम धारणा छ । त्यहि भएर होला नेपालीमा एउटा आहान छ,‘बाह्र भाई तेह्र नाती, बुढाको धोक्रो काँधै माथी ।’ यसो भनेर समाजमा सबै सन्तान खराब नै हुन्छन् भन्ने छैन । नपत्याए पोखराकी रञ्जना बराललाई हेरे पुग्छ ।
हो, पोखरा महानगरपालिका वडा नम्बर–३० पावरहाउसकी रञ्जनाले आफ्नै कलेजो दिएर बुबालाई जीवनदान दिएकी छन् । उनले विगत ५ वर्षदेखि कलेजो बिग्रिएर थलिएका आफ्नै बुबा पोखरा–३० खुदीका वासुदेव लामिछानेलाई कलेजो प्रदान गरी नया जीवन दिएर उदाहरणीय छोरी बनेकी छन् ।
६४ वर्षिय लामिछाने कलेजो बिग्रिएर थलिएर बसेका थिए । चिकित्सकले कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएपछि कलेजोको खोजीमा लागेका उनलाई परिवारका अन्य सदस्यको रक्त समूह मिलेन । भाग्यले भनौं वा संयोग भनौं लामिछानेको रक्त समूह छोरी रञ्जनाको रक्त समूहसँग मिल्यो । त्यसपछि रञ्जनाले बुबालाई आफूले कलेजो दिने निर्णय सुनाईन् । अनि छायो परिवारमा खुशी ।
लामिछानेको गत आईतबार भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण गरिएको छ । दुबैको स्वास्थ्य अहिले सामान्य रहेको छोरा सुशील लामिछानेले जानकारी दिए । उनका अनुसार दिदी रञ्जनाको अबको एक हप्तामा डिस्चार्ज हुँदैछ भने बुबा वासुदेवको १५÷१६ दिन पछाडि डिस्चार्ज हुनेछ ।
परिवारका अन्य सदस्यसँग रक्त समूहसँग बुबाको रक्त समूह नमिलेपछि हामी निराश थियौं, लामिछानेका छोरा सुशीलले भने,‘धन्न दिदी रञ्जनासँग मिल्यो रक्त समूह । दुबैको रक्त समूह ओ–पोजिटिभ भएको र दिदीले कलेजो म दिन्छु भनेपछि बुबाले पुनरजीवन पाउनु भएको छ ।’
बुबालाई कलेजो दान गरेर जीवन बचाउन पाएकोमा रञ्जना खुशीले गद्गद् भएकी छन् । दिदीले भनेको कुरा उद्धृत गर्दै भाई सुशीलले भने,‘बुबालाई कलेजो प्रदान गर्न पाउने म भाग्यमानी छोरी हुँ । मैले केवल कर्तव्य मात्र पूरा गरेकी छु । यसले अरुलाईपनि प्रेरणाा मिलोस् ।’ कलेजा दान गर्ने रञ्जना लेखना उद्योग वाणिज्य संघकी पूर्व कार्यकारिणी सदस्य हुन् । उनी पावरहाउसमै व्यवसाय सञ्चालन गर्दै आएकी महिला उद्यमी हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







