एमाले कास्कीको उपाध्यक्षमा झपट रानाभाटको दाबी


     एभरेस्ट आवाज    
     फागुन २६ गते २०८० मा प्रकाशित




पोखरा, फागुन २६

नेकपा एमाले कास्कीको उपाध्यक्षमा झपट रानाभाटले दाबी गरेका छन् । नेकपा एमाले कास्कीको अधिवेशन नजिकिएसँगै उम्मेदवारहरुले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका बेला रानाभाटलेपनि उपाध्यक्षमा दाबी गरेका हुन् । एमाले कास्कीको अधिवेशन यहि चैत१० र ११ गते पोखरामा हुँदैछ ।

एमाले कास्कीको नया नेतृत्व हत्याउनका लागि पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारी समूह गुटगत छलफलमा व्यस्त छन् । अध्यक्षमा आकांक्षी धेरै भएपछि दुबै समूह मिलाउन लागि परेका छन् ।

उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका रानाभाट अधिकारी निकट मानिन्छन् । २०४६ सालदेखि निरन्तर कम्युनिष्ट आन्दोलनमा लागेका उनलाई पूर्व माधव नेपाल समूह भनेर नेतृत्वबाट सँधै विमूख गरिदै आएको थियो । माधव नेपाल समूहले विद्रोह गरेर पार्टी फुटाएपछि एमालेमै रहेका रानाभाट त्यसपछि भने अधिकारी समूहमा छन् । यद्वपी उनलाई अहिले पृथ्वी सुब्बा गुरुङ समूहलेपनि उपाध्यक्षको उम्मेदवार बनाउन आफूतिर तान्ने प्रयास गरिरहेको श्रोतको दाबी छ ।

अनेरास्ववियू पाचौंबाट राजनीतिक यात्रा शुरु गरेका रानाभाट तत्कालीन नेकपा मालेको भ्रुण कार्यकर्ता भएर काम गरेका थिए । उनले अनेरास्ववियू स्कुल कमिटीको अध्यक्ष, २०५१ सालमा अनेरास्ववियू कास्कीको निर्वाचित सदस्य, पार्टीको विद्यार्थी विशेष ईलाका कमिटी, क्षेत्रीय कमिटीमा रहेर काम गरिसकेका छन् ।

२०५० सालमा एमालेको पार्टी सदस्यका रुपमा कृयाशिल उनी २०५४ सालमा एमाले विभाजन भई नेकपा माले बनेपछि सो पार्टी निकट अनेरास्ववियू कास्कीको कोषाध्यक्ष, सचिव र अध्यक्षसम्म भए । २०६२÷६३ सालको जनआन्दोलनमा संयुक्त विद्यार्थी आन्दोलन कास्कीको संयोजक बनेका उनी ८ वर्षसम्म एमालेको जिल्ला अधिवेशनबाट निरन्तर निर्वाचित, एमाले कास्कीको निर्वाचन कमिटी कास्कीको सचिव हुन् ।

रानाभाट हाल एमाले कास्कीको सचिवालय सदस्य हुन् भने अघिल्लो अधिवेशनमा उनी सर्वाधिक मत प्राप्त गरी जिल्ला सदस्यमा चुनिएका थिए । एमाले कास्कीका अधिकांश सदस्य तथा पदाधिकारी मध्ये उनी सिनियर हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।