नारायणगढ–मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्चालनमा आएका छन् । मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन् ।
निर्माण भइरहेका चार पुलमा तीनवटाको पहुँच सडक निर्माणको काम जारी छ । नाम्चे, कालिखोला र खहरेखोलामा निर्माण भएका पुलको पहुँच सडक निर्माणको काम भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का इन्जिनियर कृष्ण आचार्यले बताए ।
इन्जिनियर आचार्यका अनुसार पहुँच सडक निर्माण भइरहेका पुलमध्ये नाम्चे र कालिखोलाको पुल असार मसान्तभित्र सञ्चालनमा ल्याउने गरी काम गरिएको छ । खहरेखोलामा निर्माण गरिएको पुलका लागि पहुँच सडक निर्माण गर्न अग्लो पर्खाल उठाउनुपर्ने भएकाले केही समय लाग्ने उनले बताए । तुइनखोलाको पुल निर्माणको काम ६५ प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए। उनले भने, “तुइनखोलाको पुल निर्माणको कामअन्तर्गत जग उठाउने काम सम्पन्न भएको छ ।”
तुइनखोला र खहरेखोलाको पुल निर्माणको काम कात्तिक मसान्तभित्र सक्नेगरी भइरहेको उनले जानकारी दिए । यस सडकखण्डमा १९ वटा पुल छन् । जसमध्ये विसं २०७६ चैत १० गते १५ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।
विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







