बेरोजगारलाई रोजगार दिलाउन बैशाख १० गतेदेखि पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला हुने


     एभरेस्ट आवाज    
     चैत्र ३० गते २०८० मा प्रकाशित




पोखरा, चैत ३०

के तपाईं बेरोजगार हुनुहुन्छ ? कि रोजगारी खोजीका लागि भौतारिरहनु भएको छ ? यदि छ भने चिन्ता नमान्नुस् । गण्डकी प्रदेश सरकारले बेरोजगार तथा रोजगारीको खोजिमा रहेकाहरुका लागि लक्षित गरेर दोश्रो वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्ने भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा आगामी बैशाखको १० गतेदेखि पोखरामा वृत्ति परामर्श तथा रोजगार मेलाको दोश्रो संस्करण हुन लागेको हो । तीन दिनसम्म जारी रहने मेला पोखरा सभागृहमा आयोजना हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।

मेलामा बेरोजगारका लागि रोजगारीको अवसर सिर्जना गरिने जनाइएको छ । बेरोजगार र रोजगार दाताहरुलाई एकै थलोमा राखेर रोजगारी सिर्जना गर्न लागिएको मेलाका सूचना, प्रचार प्रसार उपसमितिका संयोजक अम्बिकाप्रसाद आचार्यले बताए । उनले भने,‘बेरोजगारलाई रोजगार खोज्ने अनि रोजगार दातालाई कामदार खोज्ने साझा थलोका रुपमा विकास गर्दैछौं ।’

मेलामा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिमका विषयमा विद्यार्थी एवम् सरोकारवालाका लागि जानकारी सहितको परामर्शसमेत प्रदान गरिने उनले बताए । मेलामा उच्च शिक्षा अध्ययन र रोजगारी सृजना, उद्यमशिलता र रोजगारी विषयमा विज्ञहरुबाट स्टार्टअप तथा उद्यमशिलता प्रवद्र्धनमा सार्वजनिक नीजि साझेदारी, उद्यमशिलता, रोजागारी र शिक्षा, आन्तरिक श्रम बजार अवसर र चुनौती, ब्यवसाय बिकास र लगानी वातावरण लगायतका विषयहरुमा टल्क शो कार्यक्रम आयोजना गरिने संयोजक आचार्यले जानकारी दिए ।

मेलामा शिक्षा, तालिम, सीप परीक्षण, औद्योगिक प्रशिक्षार्थी तालिम जस्ता विषयमा विद्यार्थी र अभिभावकका लागि वृत्ति परामर्श सेवा उपलब्ध गराइनेछ । मेलामा कृषि, पर्यटन, स्वास्थ्य, उद्योग, ईक्यान, कला संस्कृति, इन्जिनियरिङ, शैक्षिक प्रतिष्ठान, निर्माण ब्यवशाय, आइटी व्यवशाय, मुद्रण ब्यवशाय, अटो मोवाइल्स, अडिटर एसोसियसन, बैंक तथा वित्तिय संस्था, घरेलु तथा साना उद्योग, नव उद्यमी ब्यवशाय, नव प्रवर्तनात्मक अभ्यास, विद्यालय क्याम्पस, विश्वविद्यालय, तालिम तथा रोजगारदाता संस्थाहरु लगायतको स्टलहरु रहने जनाइएको छ ।

मेलाबाट वृत्ति परामर्श सम्बन्धी सेवा प्रदान, सीप परीक्षण र प्रमाणीकरणबारे जानकारी गराउने, सिपमुलक तालिमका अवसरहरुको जानकारी गराउने, स्थानिय जनशक्तिलाई स्थानियस्तरमै रोजगार दिलाउने, श्रम बजारमा दक्ष जनशक्ति कामदार उपलब्ध गराउने, विभिन्न रोजगारीका सम्भावित क्षेत्र र अवसरहरुबारे जानकारी गराउने, विद्यालय तहको अध्ययन पश्चात के पढ्ने, के सिक्ने भनेर अल्मलिएकाहरुलाई परामर्श सेवा प्रदान गर्ने, तालिम तथा रोजगार व्यवशस्थापन सूचना प्रणाली टीइएमआइएस भरी रोजगारीको अवसर र दक्ष जनशक्तिको बारेमा जानकारी लिनेदिने, प्राविधिक शिक्षा तथा व्यवसायीक सीप हासिल गर्न चाहनेहरुलाई अवसर प्रदान गर्न र छात्रवृत्ती प्राप्त गरी अध्ययन गर्न चाहनेहरुलाई जानकारी दिइने आयोजक संस्था पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।