इलाम उपनिर्वाचन अपडेटः मतगणना सुरु


     एभरेस्ट आवाज    
     वैशाख १६ गते २०८१ मा प्रकाशित




फिक्कल । इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ ।
विहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय निर्णय भएपनि करिब एक घण्टा ढिला गरी मतगणना सुरु भएको हो । इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सभागृहका छुट्टाछुट्टै दुई स्थानमा मतगणना सुरु भएको हो ।

यहाँका छ वटा पालिकामध्ये फाककफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । त्यसपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतपत्र गणना गरिने उनले जानकारी दिए । सोमबार साँझसम्ममा अन्तिम मतपरिणाम आउने सम्भावना रहेको उनले बताए ।

मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गरिने जानकारी पनि उनले जानकारी दिए । मतगणनास्थल सिटी हलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

मतगणनास्थलमा ११ वटा सिसी क्यामरा जडान गरिएको तथा भीडभाड हुन नदिन चोक बजारमा डिस्प्लेमार्फत मतगणनाको अपडेट गरिनेछ ।

कूल ५९ दशमलव ७९ प्रतिशत मत खसेको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।