वैशाख १९ काठमाण्डौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ । जितका लागि दुई सय २८ रनको विजयी लक्ष्य पच्छाएको नेपालको पारी १९ दशमलव २ ओभरमा सवै विकेट गुमाउँदै एक सय ५१ रनमा समेटियो ।
नेपालका लागि करण केसीले २८, लोकेश बमले २८, कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल साहले १४, कप्तान दीपेन्द्रसिँह ऐरीले ७, गुल्सन झाले ६ तथा विवेक यादव, सागर ढकाल र आरिफ शेखले समान तीन तीन रन बनाए । करणले १७ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरे । बमले २९ बलमा एक चौका र दुई छक्का हाने ।
नेपाललाई एक सय ५१ रनमा समेट्ने क्रममा वेस्ट इन्डिज ‘ए’का हायडेन वाल्सले तीन, गुदाकेश मोतीले दुई तथा फबिएन एलेन, म्याथ्यु फर्ड र ओबेद म्याककोयले एक एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय २७ रनको योगफल बनायो ।
वेस्ट इन्डिज ‘ए’का लागि जोनसन चाल्र्सले शतकीय पारी खेले । उनले ६१ बलमा १३ चौका र सात छक्काको मद्दतमा एक सय १९ रन बनाए । यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । उनले ३३ बल खेल्ने क्रममा चार चौका र र तीन छक्का हाने ।
यस्तै फबिएन एलेनले १९, एलिक एथानाजेले १७ तथा किमो पलले अविजित १३ रन बनाए ।
बलिङतर्फ नेपालका लागि करण केसी र सागर ढकालले एक एक विकेट लिए । पाँच खेलको जारी शङ्खलामा वेस्ट इन्डिज ‘ए’ दुई तथा नेपाल एक खेलमा पजयी भएको छ । पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई चार विकेटले हराएको थियो । नेपाल दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’सँग १० रनले पराजित भएको थियो । शृङ्खलाको चौथो खेल बिहीबार हुनेछ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







