मैले गर्दा हुने भए लेखनाथलाई भर्खरै छुट्टै पालिका बनाईदिन्थेँ : मुख्यमन्त्री अधिकारी


     एभरेस्ट आवाज    
     वैशाख २५ गते २०८१ मा प्रकाशित




पोखरा, बैशाख २५

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लेखनाथलाई छुट्टै पालिका बनाउन सकिने भए आफूले भर्खरै निर्णय गरिदिने बताएका छन् । लेखनाथ क्षेत्रलाई पोखरा महानगरपालिकामा गाभेपछि असन्तुष्ट बनेकाहरुले छिटपुट विरोधको आवाज निकालिरहेका बेला मुख्यमन्त्री अधिकारीले नेपाल कृषि अनुसन्धान परिषदको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै लेखनाथ छुट्याउनुपर्छ भनेर आन्दोलन गरिरहेकाहरुलाई बल पुग्नेगरी अभिव्यक्ति दिएका हुन् ।

कुन क्षेत्रलाई कता लैजाँदा जितिन्छ भन्ने नेताहरुको क्षेणिक स्वार्थले लेखनाथलाई पोखरामा गाभिदा लेखनाथको दीगो विकासमा गम्भीर असर परेको भन्दै उनले भने,‘अहिले लेखनाथलाई छुट्याउन स्थानिय तह (पोखरा महानगरपालिका)ले दुई तिहाई बहुमतले निर्णय गर्नुपर्छ । त्यस्तो निर्णय आयो भने प्रदेशबाट त म अहिले एकछिनमै गर्दिहाल्छु ।’ स्थानिय तहबाट दुई तिहाई बहुमतले निर्णय गर्न नसक्ने अवस्थाका कारण लेखनाथ छुट्याउन भने नसकिने अवस्था रहेको उनको भनाई थियो ।

मुख्यमन्त्री अधिकारीले मादी गाउँपालिकाजत्रै क्षेत्रफल रहेको पर्वतमा ८ वटा पालिका हुँदा पोखरामा ५ वटा मात्र पालिका बनाउँदा कास्केलीलाई घाटा परेको बताए । पोखरालाई महानगर बनाउन लेखनाथ गाभ्नै पर्दैनथ्यो,उनले भने,‘माथि प्रभावमा पार्न सक्ने साथीहरु हुनुहुन्थ्यो । म लेखनाथलाई छुट्टै बनाउन लागेको लाग्यै थिएँ । तर एमाले, कांग्रेस, माओवादी सबै मिलेर लेखनाथलाई पोखरामा गाभेरै छाडे ।’ लेखनाथमा बलियो भएको कांग्रेसलाई पोखरामा मिसाउँदा पोखरामा कांग्रेसले सँधै जित्छ भन्ने भ्रम प¥यो,‘त्यहि भएर लेखनाथलाई पोखरामा मिसाइयो । यसले हामीलाई ठूलो घाटा भयो ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।