ज्येष्ठ नागरिकको हकमा वीमाको प्रथम विन्दु हटाउन निवृत्त राष्ट्रसेवक समाजको माग


     एभरेस्ट आवाज    
     जेठ ४ गते २०८१ मा प्रकाशित




पोखरा, जेठ ४

निवृत्त राष्ट्रसेवक समाजले ज्येष्ठ नागरिकको हकमा वीमाको प्रथम विन्दु हटाउन माग गरेको छ । समाजले ज्येष्ठ नागरिकको वीमा सरकारले स्वतःरुपमा गर्ने र त्यो वीमा स्थानिय तहमा हुनेहुँदा प्रथम विन्दुका कारण सेवाग्राहीले झञ्झट बेहोर्नुपरेको भन्दै सो प्रावधान हटाउन माग गरेको हो । सेवाग्राही ज्येष्ठ नागरिक सहरमा बस्छ,समाजका अध्यक्ष ध्रुवराज अधिकारीले भने,‘उनीहरु केहि भएर स्वास्थ्य जाँच गराउन जाँदा प्रथम विन्दुको रिफर माग्छ । सहरमा बसेकालाई रिफरर ल्याउनका लागि गाउँ पुग्नुपर्ने हुन्छ । यो अव्यवहारिक भएकाले हटाउनुपर्छ ।’

समाजले सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई छुट्टै बस्ने व्यवस्था र निःशुल्क यात्राको ज्ञारेन्टी गर्नपनि माग गरेको छ ।

यसैबीच समाजको शुक्रबार पोखरामा बसेको बैठकले अध्यक्ष ध्रुवराज अधिकारी, उपाध्यक्ष टोपराज ढुंगाना, सचिव रामप्रसाद शर्मा सुवेदी, कोषाधयक्ष ख्यामनारायण पौडेल, सहसचिव प्रेमलाल लम्साल तथा सदस्य द्वय भक्तराज सुवेदी र पूर्ण गिरी रहेको सचिवालय समिति बनाएको छ । बैठकले सचिवालय समितिलाई भैपरी आउने समस्या समाधानका लागि बैठक बसेर निर्णय गर्ने अधिकारी दिएको अध्यक्ष अधिकारीले जानकारी दिए । तर सचिवालयले गरेका निर्णय पूर्ण बैठकबाट अनुमोदन भने गर्नुपर्ने निर्णय गरेको छ ।

बैठकले समाजको जिल्ला समितिहरु बिस्तार गर्ने निर्णय गरेको छ । साथै तनहुँ र पर्वतमा जिल्ला समिति बनाउन सो जिल्लाबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्यहरुलाई जिल्ला भेला राख्नेबारे छलफल गरेर निर्णय गर्न अधिकार प्रदान गरेको छ ।

समाजले पोखरा महानगरपालिकाको सहयोगमा चाँडै ज्येष्ठ नागरिकहरुको अवलोकन भ्रमण लैजाने निर्णय गरेको छ । जसका लागि अवलोकन भ्रमणको मिति र स्थान टुंगो लगाउन तथा कास्कीका विभिन्न स्थानिय तहको प्रतिनिधित्व हुनेगरी भ्रमणमा जाने सदस्यहरुको टुंगो लगाउने जिम्मेवारी सचिवालय समितिलाई दिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।