हामी कतै मध्यावधीतर्फ डोहोरिदै त छैनौं ? भन्ने सिनहरु देखिन थालेको छ : सांसद जुग्जाली


     एभरेस्ट आवाज    
     जेठ १७ गते २०८१ मा प्रकाशित




पोखरा, जेठ १७

गण्डकी प्रदेश सभा सदस्य रेशमबहादुर जुग्जालीले गण्डकी प्रदेशमा मध्यावधीको खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । गण्डकी प्रदेश सभाको विहीबार बसेको छैटौं अधिवेशनको छैटौं बैठकमा पेस भएको आगामी आर्थिक वर्ष २०८१\८२ को बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिदै नेकपा माओवादी केन्द्रका सांसद जुग्जालीले भने,‘सबै नेता साथीहरु र माननीय ज्यूहरुलाई मेरो आग्रह के छ भने, अब हामी कतै मध्यावधी निर्वाचनतर्फ डोहोरिदै त छैनौं भन्ने सिनहरुपनि देखिइरहेको छ ।’ उनले यसबारे गम्भीरतापूर्वक छलफल गर्नुपर्ने भन्दै दलका नेताहरुलाई यसको अगुवाई गर्न आग्रह गरे ।

प्रदेश सांसद जुग्जालीले कहिले को सत्तापक्ष त कहिले को प्रतिपक्ष हुने भएपनि सबैको लक्ष्य गण्डकी प्रदेशको विकास र समृद्धि भएको बताए । माननीय ज्यूहरुको कयौं बाध्यताहरुका कारण मनले नमानी नमानी कहिले विरोध त कहिले समर्थन गर्नुपरेको होला,उनले भने,‘तर हामी गण्डकी प्रदेशलाई समृद्ध बनाउनेतर्फ लागौं ।’

सांसद जुग्जालीले व्यवस्थाका कारण राजनीतिक अस्थिरता आएको भन्ने अन्य माननीयहरुले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । राजनीतिक अस्थिरता व्यवस्थाकै समस्या भन्नेजस्ता अभिव्यक्ति आइरहेका छन्,उनले थपे,‘तर त्यस्तो होईन । व्यवस्था आफैमा सुन्दर छ । यसलाई कसरी व्यवहारिक कार्यान्वयनको कुरा हो । कहिले माननीय सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री हुनुभयो होला तर कहिले माननीय खगराज अधिकारी मुख्यमन्त्री हुनुभयो होला । तर जो भएपनि जनताको छोरा भएका छन् । यो नै यसको सुन्दरता हो ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।