पोखरामा होटलमा परीक्षा सञ्चालन गरेको आरोपमा प्रध्यानाध्यापक सहित शिक्षक पक्राउ


     एभरेस्ट आवाज    
     माघ ६ गते २०७७ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । पोखराबाट अमर्यादित तथा गैरकानुनी तरिकाले परीक्षा सञ्चालन गरेको आरोपमा एक विद्यालयका प्रध्यानाध्यापक सहित तीनजना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पोखरा १ पुरानो टुँडिखेलमा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत एक छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको भन्दै आवश्यक अनुसन्धानका लागि उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ पर्नेमा विद्यालयका प्रध्यानाध्यापक सुर्य तिवारी , शिक्षक द्वय घनश्याम रेग्मी र शिरिषकुमार बस्ताकोटी छन् ।

आंशिक परीक्षामा सहभागी गराइएकी ती छात्रालाई अंग्रेजी र शैक्षणिक बिधि विषयको परीक्षा होटलमा दिन लगाइएको भनि ती छात्राले बताएपछि यो घटना सार्वजनिक भएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानून विपरितको कसूरजन्य कार्य समेत भएको हुन सक्ने भन्दै दोषीहरुलाई कारबाहीका लागि जाहेरी पत्र जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाएपछि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई शिक्षा ऐन अन्र्तगत जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।