प्रतिभा माविमा खेलकुद कार्यक्रम सुरु,उपाधि विजेता खेलाडीलाई सम्मान


     एभरेस्ट आवाज    
     असाेज २८ गते २०८३ मा प्रकाशित




पालिखेचोकस्थित प्रतिभा माविमा बुधबारदेखि वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ ।

आन्तरिक रुपमा विभिन्न समूह बनाएर विद्यार्थीले उक्त कार्यक्रममा भाग लिनेछन् । त्यसबाहेक विद्यालयले बुधबार एक कार्यक्रम गरि पोखरामा आयोजित विभिन्न खेल प्रतियोगिताका उपाधि विजेता विद्यार्थीलाई सम्मान समेत गरेको छ । विद्यालयले केही समय अघि पोखरामा आयोजित पाँचौ मञ्जुबहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगिता जितेको थियो । त्यस्तै कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको २२ औं इन्द्रबहादुर गुरुङ मेमोरियल अन्तर स्कुल ब्याडमिन्टन प्रतियोगितामा प्रतिभा मावि उपविजेता बनेको थियो । ती दुवै प्रतियोगिताका विद्यार्थीलाई बुधबार आयोजित कार्यक्रममा सम्मान गरिएको थियो । त्यसबाहेक विद्यालयले आयोजना गरेको खेलकुद कार्यक्रम अन्तरगत भलिबल र बास्केटबलका प्रतियोगिता पनि संचालन गरिएको विद्यालयका निर्देशक राकेश जोशीले बताए । खेल गतिविधिको प्रमुख अतिथि पोखरा महानगरपालिका–९ का अध्यक्ष दीपेन्द्र मर्सानी र विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले उद्घाटन गरेका थिए ।

कार्यक्रममा विद्यालयका निर्देशक जोशीले विद्यालयले यो समयमा हरेक वर्ष खेलकुद कार्यक्रम संचालन गर्दै आएको र योवर्ष पनि निरन्तरता दिएको बताए । दुईदिन अवधिमा भलिवल र बास्केटबलका खेल हुने उनले बताए । यही कार्यक्रम अन्तर्गतका कतिपय खेल गतिविधि यसअघि नै संचालन भईसकेको उनले बताए । ‘कतिपय खेल गतिविधि केहीदिन अघि नै सम्पन्न भईसकेका छन । ‘अबका दुइदिन भलिवल र बास्केटबलका गतिविधि संचालन हुनेछन,’ उनले भने । विद्यालयले यसअघि नै क्रिकेट, फुटसल, ब्याडमिन्टन, टेबल टेनिस, चेस लगायतका खेलहरु सम्पन्न गरिसकेको उनले बताए । ‘खेल हाम्रो जीवनमा अति नै महत्वपूर्ण छ । खेललाई जीवनको एउटा अभिन्न अंगको रुपमा लिइएको छ । किनभने मान्छेको शारीरिक, मानसिक स्वास्थ्यको विकासको लागि जसरी अन्य विधा आवश्यक छ, त्यसरी नै खेलकुद पनि जरुरी छ,’ उनले भने ।

विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यालयभित्र हुने प्रतिस्पर्धा मात्र नभई बाहिरी प्रतिस्पर्धामा समेत विद्यालयले खेल क्षेत्रमा अब्बलता सावित गरेको बताए । ‘विद्यालयले हिसानका तीनवटा संस्करण लगातार जितेर रनिङ शिल्ड नै राखिसकेका छौं । फेरि दोस्रो अध्याय सुरु गरेका छौं, अबका संस्करणमा पनि प्रतिभाले साच्चै प्रतिभा देखाउनेछ,’ सापकोटाले भने, ‘त्यसका लागि हामीले अहिले नै अभ्यास थालिसकेका छौं । विद्यार्थीको प्रशिक्षण सुरु भईसकेको छ ।’ प्राचार्य सापकोटले खेलकुद क्षेत्रमा कहिल्यै नहारिने बताए । ‘खेलाडीहरु कहिल्यै हार्दैनन, बरु हरेक खेलबाट केही न केही सिक्छन । त्यसैले हरेक खेललाई उत्तिकै महत्वपूर्ण ठानेर अनुशासित, लगनशील र आत्मविश्वासका साथ खेल्नुपर्छ,’ उनले भने, ‘खेलकुद एउटा यस्तो सशक्त माध्यम हो, जसले देशको राष्ट्रिय झण्डालाई विश्वभर उचाइमा पु¥याउँछ । खेलाडीसँगै देशको प्रतिष्ठा पनि उँचो हुन्छ ।’ विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले हरेक वर्ष यस्ता खेलकुद प्रतियोगिता आयोजना गर्दै विद्यार्थीमा रहेको प्रतिभा पहिचान गर्ने, उनीहरुको क्षमता विकास गर्ने र भविष्यका उत्कृष्ट खेलाडी उत्पादन गर्ने प्रयासलाई निरन्तरता दिएको उनले बताए ।

प्रमुख अतिथि पोखरा–९ का अध्यक्ष दीपेन्द्र मर्सानीले खेलकुदको माध्यमले विद्यार्थीको पढाइसँगै उनीहरुको मानसिक, शारीरिक तथा अनुशासनमा पनि योगदान दिने बताए । ‘जब विद्यार्थी खेल्का लागि मैदान प्रवेश गर्छ, उसले समूहमा काम गर्ने, नेतृत्वको काम, मेहनत सबै बुझेको हुन्छ,’ उनले भने, ‘शारीरिक रुपमा त विद्यार्थीलाई फाइदा नै छ, त्यसबाहेक मानसिक रुपमा पनि अब्बल बनाउँछ ।’ विद्यालयमा हुने यस्तै गतिविधिमार्फत राष्ट्रका लागि खेलाडी तयार हुने उनले बताए । विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले विद्यालयले शिक्षा क्षेत्रमा फड्को मारेसँगै खेल क्षेत्रमा पनि भिन्दै पहिचान बनाएको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।