पोखरा, जेठ २८
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत मागेका छन् । गण्डकी प्रदेश सभाको सोमबार बसिरहेको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत मागेका हुन् । मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ५ मा जाँदा संसद विघटन हुने खतरा हुने भन्दै उनले उपधारा ३ मै आफूलाई विश्वासको मत दिन आग्रह गरे ।
विश्वासको मत माग्दै उनले को मुख्यमन्त्री हुने भन्दापनि संविधान र संघीयतालाई बलियो बनाउनु अहिलेको आवश्यक्ता भएको बताए । त्यसैले अस्थिरताको अन्त्य गरी स्थायीत्व प्रदान गर्नका लागिपनि आफूलाई विश्वासको मत दिन उनको आग्रह थियो ।
विश्वासको मत मागेका गण्डकीका मुख्यमन्त्री पाण्डे अहिले अल्पमतमा छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका उनीसँग ६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७ सांसदको मात्रै समर्थन छ । उनलाई राप्रपाका दुई, दीपक मनाङेले समर्थन गर्नसक्ने अनुमान छ । उसो त मुख्यमन्त्री पाण्डेलाई माओवादीको चुनाव चिह्नबाट निर्वाचित फडिन्द्र देवकोटालेसमेत फ्लोर क्रस गरेर विश्वासको मत दिने विश्वास छ । यद्वपी कसैलेपनि औपचारिक रुपमा निर्णय भने गरिसकेका छैनन् ।
गण्डकीमा नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र स्वतन्त्र दीपक मनाङे प्रदेश सभामा छन् ।
गण्डकीका मुख्यमन्त्री पाण्डे परमादेशबाट नियुक्त भएका हुन् । निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले ६० सदस्यीय प्रदेश सभामा ३० लाई नै बहुमत मानेर विश्वासको मत लिएपछि त्यसबिरुद्ध वर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले ३० लाई बहुमत मानेर लिइएको विश्वासको मत बदर गर्दै पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । सोहि परमादेशका आधारमा पाण्डे जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलबभत्ता अर्धमासिक रुपमा भुक्तानी गर्न सम्बन्धित निकायलाई…





