पोखरा, जेठ ३०
पोखरामा शुक्रबारदेखि प्रदेश स्तरीय पुरुष क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगितामा गण्डकी प्रदेशका ८ वटा जिल्लाका टिमले प्रतिष्पर्धा गर्दैछन् ।
प्रतियोगितामा कास्की जिल्लालेपनि सहभागिता जनाउँदैछ । तर प्रतियोगितामा सहभागिताबारे कास्की जिल्ला क्रिकेट संघ बेखबर छ । किनकी जिल्ला खेलकुद विकास समितिले क्रिकेट संघलाई जानकारी नै नदिई टिम पठाएको छ । प्रतियोगिता आयोजक गण्डकी खेलकुद परिषदले क्रिकेट संघ सँगको समन्वयमा खेलाडी छनौट गरेर टिम पठाउन भनेपनि जिल्ला खेलकुद समितिले एकल रुपमा मनोमानी ढंगले खेलाडी छनौट गरेर टिम पठाएको पाइएको हो ।
त्यतिमात्र होईन खेलाडी छनौट गर्दा सिनियर खेलाडीलाई बाईपास गरेर जुनियर खेलाडीलाई छनौट गरेकोपनि आरोप लागेको छ । जसले गर्दा सिनियर खेलाडीहरु निराश बनेका छन् । त्यस्तै प्रतियोगिताका लागि कास्कीले म्यानेजर ऋषिकेश पौडेललाई प्रशिक्षकका रुपमा राखेको छ । जबकी पौडेल प्रशिक्षक भन्दा व्यवस्थापक बढी हुन् । साथै जिल्ला खेलकुद समितिले खेलाडी छनौट गर्ने सेलेक्सन कमिटीमासमेत उनै पौडेललाई राखेर खेलाडी छनौट गरेको छ । यसो गर्नुको कारण समितिका पदाधिकारीहरु पौडेल निकट रहेको र आफू अनुकुल खेलाडी छनौट गर्ने योजना अनुरुप राखिएको श्रोत बताउँछ । श्रोतले भन्यो,‘पौडेलमार्फत आफू निकट खेलाडीलाई छनौट गर्ने योजनामा यसो गरिएको हो ।’
प्रतियोगितामा कास्कीको टिम सहभागिताबारे क्रिकेट संघ कास्कीलाई जानकारी नभएको क्रिकेट संघ कास्कीका सचिवको जिम्मेवारीसमेत सम्हाल्दै आएका कोषाध्यक्ष बिरेन्द्र पुनले बताए । ‘खेलाडी छनौट गरेर टिम पठाउन भनेर पत्र आएको थियो । तर हामीले खेलाडी छनौट गर्ने तयारी गर्दागर्दै जिल्ला खेलकुद विकास समितिले खेलाडी छनौट गरेर टिम पठाएको जानकारीमा आयो । यो हामीसँग समन्वय नगरी गरिएको हो, यसमा हाम्रो आपत्ति छ ।’ उनले क्रिकेट संघ कास्कीसँग समन्वय नगरी खेलाडी छनौट गर्ने र टिम पठाउने अधिकार जिल्ला खेलकुद विकास समितिसँग नहुने दाबी गरे ।
गण्डकी खेलकुद परिषदका टेक्निकल कमिटी प्रमुख देवेन्सन प्रजुले प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिले सहभागिता जनाएपनि टेक्निकल सहयोग क्रिकेट संघको लिनुपर्ने बताए । तर समन्वय भएनभएकोबारे आफूलाई जानकारी नभएको उनको भनाई छ ।
गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल भने प्रणालीगत समस्याका कारण अहिलेको समस्या आएको बताउँछन् । गखेपले आयोजना नगरी गण्डकी क्रिकेट संघले आयोजना गर्नुपर्ने प्रतियोगिता हो यो,उनले भने,‘तर गखेपले आयोजना ग¥यो । जसका कारण उसले आफू मातहतका जिल्ला खेलकुद विकास समितिलाई टिम पठाउन भन्यो । सोहि अनुसार जिल्ला खेलकुद समितिले क्रिकेट संघसँग समन्वय नगरी टिम पठाउँदा समस्या उत्पन्न भयो ।’ तर जसरीपनि खेलाडीले खेल्न पाउने भएकाले यसमा विवाद गरिरहनु राम्रो नहुने उनको भनाई छ ।
कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुनबहादुर लामा भने क्रिकेट संघकै समन्वयमा खेलाडी छनौट भएको दाबी गर्छन् । हामीले क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सरसँग समन्वय गरेर खेलाडी छनौट गरेका हौं,उनले भने,‘उहाँले मौखिक रुपमा खेलाडी र प्रशिक्षकको नाम दिनुभयो, त्यसलाई नै हामीले सिफारिसका रुपमा मानेर टिम बनाएका हौं ।’ उनले क्यानले गर्ने खेलाडी छनौटमा जिल्ला खेलकुद विकास समितिकोपनि प्रतिनिधि राखेर गर्दा उपयुक्त हुने भएपनि त्यसो हुन नसक्दा बेलाबेला विवाद आउने गरेको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







