असार ३ चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्न शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताए ।
“देशभित्रै भविष्य देख्ने सकारात्मक सोचका साथ मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप दिगो विकासका लागि सदुपयोग गर्नुहोस्,” प्रधानमन्त्री प्रचण्डले भने, “देशभित्र भविष्य देख्ने वातावरणका निम्ति शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धिमा विशेष जोड दिनुपर्छ ।”
उनले कृषि विज्ञानमा भर्ना हुने र भेटरेनरीमा आवेदन दिने विद्यार्थीको सङ्ख्या बढिरहेको तथा भेटरेनरी विषयमा विद्यार्थी सङख्या शतप्रतिशत बढाउने पहल भइरहेको जानकारी पाउँदा खुसी लागेको बताए ।
प्राविधिक विश्वविद्यालयहरूले अनुसन्धानमार्फत् नवीनतम प्रविधिको विकास गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यमा सम्पूर्ण क्षमता र साधनस्रोत खर्चिनुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयका वैज्ञानिकहरूले भैंँसीको बेमौसमी प्रजननको प्रविधि, गर्मी सहन गर्न सक्ने गहुँको जातको विकासलगायतका प्रविधि विकास गरेकोप्रति खुसी व्यक्त गरे ।
विश्वविद्यालयले आवश्यकताअनुसार क्याम्पस तथा कृषि विज्ञान केन्द्र विस्तार र सवलीकरणका लागि योजना निर्माण गरी कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा विश्वविद्यालयका निम्ति आवश्यक जनशक्तिको व्यवस्थापनमा सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए ।
“विश्वविद्यालयले सङ्काय, कलेज तथा विज्ञान केन्द्रहरूको शैक्षिक भवन, एकीकृत अनुसन्धान प्रयोगशाला, जैविक सुरक्षा प्रयोगशाला निर्माण छिटो सम्पन्न गर्नुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “विश्वविद्यालयका शैक्षिक एवं अनुसन्धान र प्रसार कार्यलाई गुणस्तरयुक्त तथा समयसापेक्ष बनाउन दश वर्षे रणनीतिक योजना निर्माण एवं पाठ्यक्रम परिमार्जन गरी कार्यान्वयन गर्नुपर्छ ।”
प्रधानमन्त्री प्रचण्डले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्नेमा जोड दिँदै कर्ममा समर्पित हुन आग्रह गरे । प्रचण्डले व्यक्तिगत स्वार्थ र निजी भविष्यका लागि मात्र नभइ देशको भविष्यमा ध्यान दिन अपिल गरे । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







