पोखरा, असार १५
गण्डकी प्रदेशमा राईड सेयरिङ एपबाट सञ्चालन हुने ई–ड्राइभ भित्रिएको छ । ई–ड्राइभ गण्डकी नेपाल र ई–ड्राइभ नेपालको सहकार्यमा ‘मेक ईन नेपाल, मेड इन नेपाल’को अवधारणासहित राईड सेयरिङ एप सञ्चालनमा ल्याएको ई–ड्राइभ गण्डकी प्रदेशमा सेवा दिनेगरी भित्रिएको शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
पोखराका १० युवाहरुको पहलमा प्लेस्टोर र एपस्टोरको माध्यमबाटबाट ई–ड्राइभ नेपालको एप डाउनलोड गरेपछि अनलाइनबाट सवारी साधन बुक गरेर गन्तव्यमा पुग्न सकिने ई–ड्राइभ पोखरा भित्रिएपनि कहिलेदेखि सञ्चालनमा आउँछ भन्नेचाहिं टुंगो छैन । किनकी अहिले गण्डकीमा राईड सेयरिङ सञ्चालनमा रोक छ । यातायात व्यवस्था कार्यालय (सवारी) पोखराले असार ८ गते एक सूचना जारी गर्दै राईड सेयरिङमा रोक लगाएको हो ।
गण्डकी प्रदेशमा राईड सेयरिङ सम्बन्धि कानून् बनेपनि कार्यविधि बनेको छैन । जसका कारण भाडादर तोकिएको छैन भने यात्रुको वीमालगायतबारे अन्यौल छ । यहि कारण देखाउँदै यातायात व्यवस्था कार्यालयले राईड सेयरिङ सञ्चालनमा रोक लगाएकाले ई–ड्राइभपनि तत्काल सञ्चालनमा आउने सम्भावना छैन । ई–ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले आफूहरुले दशैंको सेरोफेरोमा सेवा सञ्चालन शुरु गर्ने बताएपनि यकीन समय भन्न सकेनन् । उनले भने,‘सम्भवत हामी दशैं आसपासमा सेवा सञ्चालनमा ल्याउँछौं ।’ त्यतिञ्जेलसम्ममा राईड सेयरिङ सम्बन्धि कार्यविधी बन्नेमा उनी आशावादी छन् ।
यसअघि काठमाडौं उपत्यका, लुम्बिनी प्रदेशको बुटवल र भैरहवाबाट सेवा दिइरहेको ई–ड्राइभले निकट भविष्यमा कोशी प्रदेश र लुम्बिनीको नेपालगन्जमापनि सेवा विस्तार गर्ने योजना बनाएको अध्यक्ष मास्केले बताए ।
गण्डकी प्रदेशमा पहिलो पटक भित्रिएको ई–ड्राइभले पहिलो चरणमा पोखराबाट सेवा शुरु गर्ने जनाइएको छ । शुरुमा २५ वटा विद्युतीय सवारी साधनबाट सेवा शुरु गर्नेगरी तयारी भइरहेको ई–ड्राइभ गण्डकीका अध्यक्ष भीमसेन कार्कीले बताए । यस्तै, एक हजार बढी मोटरसाइकल र स्कुटरसँगै सयौं साना भाडाका सवारीसाधनहरुपनि कम्पनीसँग आबद्ध भएर सेवा दिने उनको भनाई छ । ‘पहिलो चरणमा पोखरामा विद्युतीय कार, मोटरसाइकल, स्कुटरजस्ता सवारीमार्फत सेवा दिनेछौं’–उनले भने । पर्यावरणमैत्री सहर निर्माणका लागि विद्युतीय सवारी साधनबाट सेवा दिन लागिएको उनको भनाई छ ।
ई–ड्राइभले आफूसँग आबद्ध भएर सर्वसाधारणलाईपनि सेवा सञ्चालन गर्न दिने जनाएको छ । त्यसका लागि एप डाउनलोड गरि रजिस्ट्रेसन गर्नुपर्ने गण्डकी अध्यक्ष कार्कीले बताए । ई–ड्राइभले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै नेभिगेशन प्रणाली प्रयोग गरेको बताएको छ । जसले कुन सवारी साधन कहाँ छ पुग्यो भन्ने सजिलै पत्ता लगाउन र खोज्न सकिने उनको भनाई छ । यात्राका क्रममा यात्रुले आफुलाई असुरक्षित महसुस गरेको खण्डमा एपबाटै आकस्मिक बटन थिचेर प्रहरी र ई–ड्राइभ कन्ट्रोल रुममा जानकारी दिन सक्ने प्रविधिपनि प्रयोगमा ल्याईने उनले बताए । साथै एपबाट ३ जना आफन्तमा लोकेसन शेयर गर्न मिल्ने फिचरसमेत उपलव्ध रहेको उनले जानकारी दिए ।
ई–ड्राइभले सरकारले तोकेकै भाडादर कायम गर्न सकिने जनाएको छ । सरकारले तोकेको भाडादर न्यून भएकाले पोखरामा ट्याक्सीहरु मिटरमा चल्न नमानिरहेको समयमा ई–ड्राइभले भने सरकारले तोकेकै भाडादरमा सेवा दिने प्रतिबद्धता जनाएको हो । त्यसमापनि ७० वर्ष पूरा भएका वृद्धवृद्धा, अशक्त, अपाङ्गता भएका, सुत्केरी, महिला, विद्यार्थी र दैवी प्रकोपमा परेकालाई छुटसमेत दिइने गण्डकी अध्यक्ष कार्की बताए ।
ई–ड्राइभले चालक र यात्रु दुबैको ७ लाख बराबरको वीमा कम्पनीले गर्ने जनाएको छ । ई–ड्राइभले निकट भविष्यमा विद्युतीय एम्बुलेन्स पनि संचालनमा ल्याउने योजना रहेको जनाएको छ । गरीव, विपन्न वर्गलाई सामाजिक उत्तरदायित्व बहन अन्तर्गत निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने आफूहरुको योजना रहेको कार्कीले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







