आन्तरिक राजश्व कार्यालय पोखराद्वारा ५ अर्ब ५७ करोड राजश्व संकलन


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०८१ मा प्रकाशित




पोखरा, साउन २

आन्तरिक राजश्व कार्यालय पोखराले गत आर्थिक वर्षमा सन्तोषजनक राजश्व संकलन गरेको छ । अन्तरिक राजश्व कार्यालय पोखराले आर्थिक मन्दीका बीच आर्थिक वर्ष २०८०÷८१ मा लक्ष्य नजिक राजश्व संकलन गर्न सफल भएको हो ।

पोखरा कार्यालयले गत आर्थिक वर्षमा ६ अर्ब ३९ करोड ४७ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । जसमा ५ अर्ब ५७ करोड ५५ लाख राजस्व संकलन गरेको हो । जुन लक्ष्यको ८७.१९ प्रतिशत संकलन भएको कार्यालयले जनाएको छ ।

पोखरा कार्यालयले अघिल्लो आर्थिक वर्षको भन्दा ३४ करोड ९५ लाख रुपैयाँ अर्थात ७ प्रतिशतले बढी राजश्व संकलन गरेको कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७९÷८० मा ५ अर्ब २२ करोड राजश्व संकलन भएको थियो ।

पोखरा कार्यालयले आयकरतर्फ सबैभन्दा धेरै कर संकलन गरेको छ । प्रमुख कर अधिकृत शर्माका अनुसार गत आर्थिक वर्षमा आयकरतर्फ ३ अर्ब ६६ करोड ८७ लाख संकलन भएको छ । जुन त्यसअघिको आयकर भन्दा २९ करोड ८७ लाख रुपैयाँले बढी हो । त्यसअघिको आर्थिक वर्षमा आयकरतर्फ ३ अर्ब ३७ करोड राजश्व आयकरबाट सङ्कलन भएको थियो । ‘यस वर्ष आयकर संकलनमा उल्लेख्य प्रगति भएको छ’–उनले भने ।

त्यस्तै, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ७३ करोड ३६ लाख, अन्तःशुल्कतर्फ १६ करोड ६७ लाख, घर बहाल कर ६ करोड ४१ लख, ब्याज कर ३० करोड ५७ लाख रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।