गृहमन्त्री लेखकसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०८१ मा प्रकाशित




साउन २ काठमाण्डौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्वले शिष्टाचार भेट गरेका छन् । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल भारत सम्बन्धका विविध आयाम तथा द्विपक्षीय हितका बारेमा छलफल भएको थियो ।

यसैगरी कोरोना महामारीपछि भारतीय सीमानाकाबाट नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउन र सीमा व्यवस्थापन तथा सीमा क्षेत्रमा हुने अपराधमा देखिएका चुनौती समाधान गर्न निकायगत समन्वय गर्दै जाने विषयमा उनीहरूबीच सकारात्मक छलफल भएको मन्त्री लेखकको निजी सचिवालयले जनाएको छ ।

यस्तै भारतीय लगानीमा नेपालमा सञ्चालन भइरहेका आयोजनालाई निर्धारित समयमा सम्पन्न गर्न दुवै पक्ष आपसी समन्वय र समझदारीका साथ अगाडि बढ्नेबारेमा पनि उनीहरूबीच छलफल भएको थियो ।

त्यस अवसरमा राजदूत श्रीवास्तवले नवनियुक्त मन्त्री लेखकलाई बधाई ज्ञापन गर्नुहुँदै नेपालमा देखिएका प्राकृतिक प्रकोपलगायत समस्या समाधान गर्न भारत सरकार आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।

गत शुक्रबार चितवनको सिमलताल पहिरोमा परी बससहित बेपत्ता भएका यात्रुको खोजीकार्यमा सहयोगका लागि अत्याधुनिक प्रविधिसहित आवश्यक सहायता उपलब्ध गराउन भारत सरकार सकारात्मक रहेको राजदूत श्रीवास्तवले जानकारी गराउनुभएको गृहमन्त्री लेखको सचिवालयले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।