पर्यटनमन्त्री पाण्डे आगामी एक साता हवाई सुरक्षाका विषयमा केन्द्रित हुने


     एभरेस्ट आवाज    
     श्रावण २४ गते २०८१ मा प्रकाशित




साउन २४ काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले बुधबार राति एक विज्ञप्ति जारी गर्दै अति जरुरीबाहेक सबै पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी आगामी एक साता हवाई सुरक्षाका विषयमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका हुन् । साथै उनले त्यस निम्ति आवश्यक कदम चाल्न मन्त्रालय र माताहतका निकायलाई परिचालन गर्ने उल्लेख गरेका छन् ।

नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा बुधबार एयर डाइनोस्टीको हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

मुलुकको उड्डयन क्षेत्रले भोग्नुपरेको नियति र हवाई क्षेत्रका समस्याको समाधान खोज्न सबैको साथ, सहयोग र सुझावको अपेक्षा गर्दै मन्त्रालयले तत्काल र दीर्घकालमा चाल्नुपर्ने कदमबारे सुझाव दिन अनुरोध गरेको छ ।

यस्ता सुझाव वा जानकारी मन्त्रालयको इमेल mष्लष्कतभच२तयगचष्कm।नयख।लउ मा पठाउन अनुरोध गरिएको छ ।

पर्यटनमन्त्री पाण्डेले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।