कसले शिलान्यास गर्ने भन्ने विवादले गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शिलान्यास कार्यक्रम स्थगित


     एभरेस्ट आवाज    
     श्रावण २५ गते २०८१ मा प्रकाशित




पोखरा, साउन २५

को प्रमुख अतिथि बन्ने भन्ने विवादले गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शिलान्यास कार्यक्रम रोकिएको छ । गण्डकी विश्वविद्यालयले पोखरा–३२ मालमुल, स्यालटहरोमा निर्माण गर्न लागेको मुख्य प्रशासनिक भवनको शुक्रबार शिलान्यास गर्ने कार्यक्रम थियो । शिलान्यास गर्न नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ विहीबार नै पोखरा आएका थिए । तर अन्तिम समयमा शिलान्यास मन्त्री गुरुङले गर्ने कि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने भन्ने विवाद भएपछि शिलान्यास कार्यक्रम नै स्थगित भएको हो ।

गण्डकी विश्वविद्यालयले शिलान्यासका लागि संघीय मन्त्री गुरुङलाई प्रमुख अतिथि बनाएको थियो । जसका लागि विश्वविद्यालयले तयारी गर्नुका साथै सबैतिर पत्राचारपनि गरेको थियो । सोहि अनुसार मन्त्री गुरुङ विहीबार नै पोखरा आएर बसेका थिए । शुक्रबार उनी गण्डकी विश्वविद्यालयको सो भवन शिलान्यास गर्न भनेर जाने तयारी गरेका थिए । तर गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको असन्तुष्टिसँगै दवाब आएपछि कार्यक्रम नै स्थगित गर्नुपरेको श्रोतले बतायो ।

कार्यक्रम स्थगित भएपछि मन्त्री गुरुङ केहि दिनअघि मात्र निधन भएका एमाले कार्यकर्ता आनन्द सुवेदीको घरमा समवेदना व्यक्त गर्न गएका थिए । ‘भवन शिलान्यास गरेपछि मात्रै समवेदनाका लागि सुवेदीको घर जाने भन्ने थियो । तर एक्कासी कार्यक्रम नै स्थगित भएपछि सिधै सुवेदीको घर जानुभयो’–एमाले श्रोतले भन्यो ।

विश्वविद्यालयको प्रशासनिक भवन गण्डकी सरकारको पैसाले बन्ने भएपछि त्यसको शिलान्यासपनि आफुले गर्न पाउनुपर्ने गण्डकीका मुख्यमन्त्री पाण्डेको जिकीर छ । ‘प्रदेश मातहतको विश्वविद्यालय, प्रदेशकै बजेटमा भवन निर्माण हुने भएपछि त्यसको शिलान्यासपनि प्रदेशकै मुख्यमन्त्रीबाट हुनुपर्छ भन्ने उहाँको बुझाई हो’–मुख्यमन्त्री पाण्डे निकट श्रोतले भन्यो ।

तर विश्वविद्यालयका कुलपती डा.गणेशमान गुरुङले आफूलाई नियुक्ती दिने तत्कालीन मुख्यमन्त्री गुरुङलाई प्रमुख अतिथि बनाए । एमालेका क्याडर उनले पृथ्वी सुब्बालाई नै ल्याउने अडान राखेको श्रोतको भनाई छ । ‘कुलपतीले राजनीति गर्दा शुक्रबारको परिस्थिति बनेको कांग्रेसको बुझाई छ’–श्रोतले भन्यो ।

विश्वविद्यालयका रजिष्ट्रार कैलाशबाबु तिमिल्सिना भने प्रमुख अतिथि को बन्ने भन्ने विवादले शिलान्यास कार्यक्रम स्थगित नभएको दाबी गर्छन् । बरु प्रमुख अतिथि भनेर डाकिएका मन्त्री गुरुङकै कार्यव्यस्तताका कारण शिलान्यास कार्यक्रम रोकिएको उनको दाबी छ । ‘शिलान्यास कार्यक्रम हाम्रो कारणले वा प्रमुख अतिथि को बन्ने भन्ने विवादले स्थगित भएको होईन, बरु मन्त्रीज्यू नै व्यस्त भएपछि तत्काललाई पोष्टपोण्ड गरेका हौं’–उनले भने । तर रजिष्ट्रार तिमिल्सिनाले भनेझैं मन्त्री गुरुङ शुक्रबार व्यस्त थिएनन् । बरु शिलान्यास कार्यक्रम रोकिएपछि उनी एमाले कार्यकर्ताको निधनमा शोक तथा समवेदना व्यक्त गर्न गएपछि दिनभर फुर्सद भएकाले पोखरास्थित नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समितिको कार्यालय अवलोकनका लागि पुगे ।

स्थगित शिलान्यास मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग छलफल गरेर चाँडै गरिनेपनि रजिष्ट्रार तिमिल्सिनाले बताए ।

गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवन ३ तलाको बनाइन लागेको छ । जसको लागत १२ करोडको हुने बताइएको छ भने त्यसका लागि गण्डकी सरकारले चालु आर्थिक वर्षमा १० करोड विनियोजन गरेको छ । त्यसमा विश्वविद्यालयको केहि रकम थपेर भवन निर्माण गरिने रजिष्ट्रार तिमिल्सिनाले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।