भदौ ११ काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको गठन प्रक्रिया र कामकारबाहीप्रति विरोध जनाएका छन् ।
वर्तमान सरकार राजनीतिक बलमिच्याइबाट बनेको आरोप लगाउँदै उनले यसअघि विभिन्न आपराधिक काण्डमा मुछिएकालाई जोगाउन र गल्ती कमजोरीलाई ढाकछोप गर्न लागिपरेको भनी सरकारप्रति आक्रोश व्यक्त गरे ।
आफू कसैलाई नैतिकता सम्झाउने पक्षमा नरहेको भन्दै प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले भ्रष्ट, बिचौलिया र माफियाको पक्षपोषणमा उद्यत भइरहे सरकारको प्रतिष्ठा आफैँ समाप्त हुने धारणा व्यक्त गरे ।
उनले सरकार सुशासनसँग तर्सिएर, सुशासनको बेगलाई रोक्न तथा आफू र आफ्नालाई जोगाउन बनेको भनी आरोप लगाए । “आफ्नो नेतृत्वको यसअघिको सरकारले भुटानी शरणार्थी, बाँसबारी र बालमन्दिर जग्गा प्रकरणलगायत थुप्रै काण्डको सफल छानबिन गरिरहेको अवस्थामा अकस्मात नयाँ सरकार गठन भएको प्रसङ्ग उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले विभिन्न अनियमित घटनाक्रमसहित भ्रष्टाचार काण्डको छानबिन गरिरहेका प्रहरी अधिकृतमाथि नै छानबिन सुरु गरी सुशासनको रटान लगाउनु हाँस्यास्पद हुने धारणा व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले सरकारसँग इमान नभएको आरोप लगाउँदै भने, “यो किन र कसरी बनेको कसको सरकार हो भन्ने कुरा छर्लङ्ग हुँदैछ, जनता र प्रतिपक्षको सामना गर्न इमान चाहिन्छ, यो सरकारसँग त्यो इमान र नैतिक धरातल छैन ।”
उनले वर्तमान सरकारको नियत र गन्तव्यको सुक्ष्म अवलोकनपछि आफू यस किसिमको निष्कर्षमा पुगेको उल्लेख गर्दै उनले भने, “यो सरकार सङ्ख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ, प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतले रचनात्मक खबरदारी नगरे धेरै क्षति हुने देखिएकाले मुलुक र जनताका पक्षमा यसरी बोल्न बाध्य भएको छु ।”
“अहिले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का साथीहरू आफूमात्र मिल्नुभएको छैन, आफैँले सिध्याउने भनेका जातीय–क्षेत्रीय प्रकृतिका साना दललाई पनि कतै फकाएर, कतै तर्साएर सत्तापक्षको कित्तामा उभ्याउनुभएको छ”, अध्यक्ष प्रचण्डले भने, “सङ्ख्यात्मक रूपमा प्रतिपक्षीय बेञ्च सानो भएको बेला सङ्ख्याको बलमा सरकारले जे गरे पनि हुन्छ र गर्न सक्छ भन्ने सत्तापक्षका साथीहरूलाई लागेको हामीले देख्यौँ ।”
प्रमुख प्रतिपक्ष दलका हैसियतले जनतालाई साथमा लिएर अब संसददेखि सडकसम्मको मोर्चा प्रयोग गरी सत्तापक्षलाई खबरदारी र नियन्त्रण गर्न आफ्नो दल सक्रिय रहने उनले स्पष्ट पारे । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १४कास्कीको मादी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले सबैभन्दा बढी…






