जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ


     एभरेस्ट आवाज    
     असाेज ७ गते २०८१ मा प्रकाशित




असोज ७ काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतान्त्रिक आन्दोलनलाई सफल तुल्याउनेदेखि समाजलाई सुसूचित गर्न सञ्चार क्षेत्रले जोखिममा रहेर पनि काम गरिरहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजिन प्रतिष्ठान शाखाले आज आयोजना गरेको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उनले बेथिती र विसङ्गतिविरुद्ध आवाज उठाउने पत्रकारिता क्षेत्रको संरक्षण गर्न राज्यले ध्यान दिइरहेको बताए ।

“न्यूनतम पारिश्रमिकसमेत नपाउने स्थिति झेलेर पनि पत्रकारले आफ्नो धर्म निर्वाह गरिरहेका छन्, पत्रकार हरेक हिसाबले जोखिममा छन्,

यद्यपि, आफ्नो जिम्मेवारी पूरा गरिहएका छन्”, उनले भने, “यस क्षेत्रको सुरक्षा गर्ने दायित्व राज्यको हो र हामीले अब नीति र कानुन बनाएर पत्रकारिता जगत्लाई सहज बनाउन लागेका छौँ ।” सार्वजनिक सेवा प्रसारण ऐनलाई चाँडै नै कार्यान्वयनमा ल्याइने जानकारी गराउँदै मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपालको समायोजनलाई व्यवस्थित बनाइने बताए ।

मन्त्रालयका सचिव राधिका अर्यालले सार्वजनिक सेवा प्रसारण ऐन कार्यान्वयनमा दुवै निकायले सहयोग गर्नुपर्नेमा जोड दिए । “मन्त्रालयले यसवर्ष कानुन निर्माण गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको छ, कानुन निर्माणमा सबैको साथ जरुरी छ”, उनले भने । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।