विश्व पर्यटन दिवसका अवसरमा पोखरामा मिनी सडक महोत्सव


     एभरेस्ट आवाज    
     असाेज १० गते २०८१ मा प्रकाशित




नेपालको पर्यटकीय राजधानी पोखरामा विश्व पर्यटन दिवसका अवसरमा मिनी सडक महोत्सवको हुने भएको छ ।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले पर्यटन दिवसका दिन शुक्रबार साँझ फेवाताल किनार अम्बोटदेखि वाराही चोकसम्म एकदिने सडक महोत्सव गर्न लागेको हो ।

महोत्सवमा बाजा गाजासहित विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिने महोत्सवका संयोजकसमेत रहेका रेवानका महासचिव वीरेन्द्र शेरचनले जानकारी दिए । ‘सडक मै खाउँ, सडक मै रमाउँ’ भन्ने उद्देश्यका साथ आयोजना हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको उनले बताए ।

रेवानका अध्यक्ष विश्वराज पौडेलले महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ यहाँका विभिन्न जातीय संस्कृति, भेषभुषा, सांस्कृतिक नृत्य, पर्यटकीय ठाउँहरूको दृश्यावलोकन वृत्तचित्र तथा स्वदेशी र विदेशी खानाका परिकार प्रस्तुत गरिने बताए ।

यसैगरी विश्व पर्यटन दिवसका सन्दर्भमा पोखराका विभिन्न पर्यटनसँग सम्बन्धित संघ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।