पोखरा, असोज ११
देशकै सबैभन्दा धेरै विद्यार्थी भएको पृथ्वीनारायण (पिएन) क्याम्पस र पराजुली परिवारले दाबी गर्दै आएको जग्गा सरकारी बनाएपछि विवाद थप चर्किएको छ । पिएन क्याम्पस र पराजुली परिवार दुबैले दाबी गर्दै आएको पोखरा महानगरपालिका वडा नम्बर–१ सेतीनदी किनारस्थित कित्ता नम्बर ८३३ को जग्गा मालपोत कार्यालय कास्कीले दुबैको दाबी नपुगेको भन्दै गत भदौ २५ गते सरकारको नाममा दर्ता गर्ने निर्णय गरेको थियो । पोखरा विन्ध्यवासिनी निवासी पराजुली परिवारका जिजुबाजे पण्डित रत्नाखर पराजुलीले सम्वत १८७७ मा लालमोहरबाट प्राप्त गरी पराजुली परिवारले भोगचलन गर्दै आएको सो जग्गामा पिएन क्याम्पसलेसमेत दाबी गरेपछि विवाद हुँदै आएको थियो । तर मालपोत कार्यालय कास्कीले दुबैको दाबी नपुगेको भन्दै सरकारी नाममा दर्ता गर्ने निर्णय गरेपछि सो विवादले उग्र रुप लिएको हो ।

मालपोत कार्यालयले आफूहरुको जग्गा छलफलसमेत नगरी सरकारी बनाएको विरोधमा पराजुली परिवारले शुक्रबार विरोध जनाएको छ । मालपोत कार्यालयमै पुगेर उनीहरुले मालपोत कार्यालयका प्रमुखलाई ज्ञापन पत्र बुझाउनुका साथै नाराबाजीसहित विरोध प्रदर्शनसमेत गरेका छन् । शुरुमा ज्ञापन पत्र बुझाएका उनीहरुले झरीका बाबजुद ‘व्यक्तिको नामको जग्गा सरकारी बनाउन पाईंदैन, गैरकानूनी निर्णय खारेज गर, मालपोत प्रमुख मुर्दावाद, पीडित पराजुली परिवारलाई न्याय दे’लगायतका नाराहरु लगाउँदै प्रदर्शन गरेका हुन् ।
ज्ञापन पत्र बुझाउने क्रममा बोल्दै पराजुली समाजका अध्यक्ष विश्वगोपाल पराजुलीले आफूहरुको नीजि जग्गा मालपोत प्रमुखले जालसाँजी गरेर सरकारी बनाएको आरोप लगाए । प्रमाण, डकुमेन्ट र भोगचलनको आधार नहेरी मालपोत प्रमुखले दवाब, प्रभाव र प्रलोभनमा परेर व्यक्तिको जग्गा सरकारी बनाएको उनको आरोप थियो । आफूहरुले पिएन क्याम्पसलाई ४९८ रोपनी, संस्कृत क्याम्पस, राष्ट्रिय माविलगायतलाई संयौ रोपनी जग्गा दान गरेको भन्दै उनले भने,‘अहिले रहेको जग्गा हामीलाई देउ भन्दा दातालाई सजाय गर्ने, अपमानित गर्ने र आरोपित गर्ने काम भएको छ । यसको हामी घोर भत्र्सना र निन्दा गर्छौं ।’ उनले रातारात त्योपनि दादागिरी शैलिमा सरकारी नाममा जग्गा लगिएको भन्दै यसकाबिरुद्ध कानूनी लडाईं लड्ने चेतावनी दिए । उनले तत्काल निर्णय सच्याउन आग्रह गरे । अन्यथा आफूहरु चुप लागेर नबस्ने उनको चेतावनी थियो ।
पराजुली समाजका अगुवा शशीधर पराजुलीले मालपोत प्रमुखले पहिले न्याय गर्छौं भनेर पछि धोका दिएको आरोप लगाए । पटकपटकको छलफलमा तपाईंले हामीलाई जग्गा तपाईंहरुकै नाममा आउने देखिन्छ । मैलेपनि तपाईंहरुलाई न्याय हुनेगरी निर्णय गर्छु भन्नुभयो,उनले भने,‘तर अहिले रातारात के कारणले सरकारी बनाउनु भयो ? कि कसैको प्रलोभनमा परेर यस्तो गैरकानूनी निर्णय गर्नुभयो ? ।’
अर्का अगुवा खगेन्द्रराज पराजुलीले मालपोत प्रमुखलाई घुस्याहाको संज्ञा दिए । जनता मारेर निर्णय गर्ने कार्यालय प्रमुखले न्याय दिन नसक्ने भन्दै उनले भने,‘तपाईंले कार्यालय प्रमुख हुने हैसियत गुमाउनु भयो । हामीमाथि विश्वासघात गर्नुभयो । यसको परिणाम राम्रो हुँदैन । पराजुली परिवारको तपाईंलाई श्राप लाग्नेछ ।
विरोधमा उत्रिएकी मालिका पराजुलीले आफूहरुको जग्गा फिर्ता नगरे कालोमोसो दल्नपनि पछि नपर्ने चेतावनी दिईन् । प्रमाण एकातर्फ छ,अर्कोतर्फ निर्णय गर्नु भएको छ,उनले भनिन्,‘कसरी यस्तो गर्न सक्नुभयो ? यो निर्णय फिर्ता नलिए कालोमोसो दल्न नपरोस् ।’
मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीले पिएन क्याम्पस र पराजुली परिवार कसैकोपनि दाबी नपुगेकाले सरकारी नाममा लैजाने निर्णय गरिएको बताए । उनले कसैको दवाब, प्रभाव वा प्रलोभनमा परेर नभई लामो समय दर्ता नगरी राख्दा थप अन्यौल हुने भएकाले यस्तो निर्णय गरिएको उनको प्रष्टोक्ती थियो । अब जसलाई आफ्नो हो जस्तो लाग्छ,उसले दाबी गर्न सजिलो होस् भन्नेपनि हो,उनले भने,‘तर त्यस्तो दाबी पुगेको नदेखेकैले यस्तो निर्णय गरेको हुँ ।’
विवादित जग्गा पराजुली परिवारका जिजुबाजे पण्डित रत्नाखर पराजुलीले सम्वत १८७७ मा लालमोहरबाट विर्ताका रुपमा प्राप्त गरेकोमा पिएन क्याम्पसपनि सहमत थियो । तर त्यसपछिको भोगचलन र दर्ता भने दुबैले आफैले गर्दै आएको दाबी गरेपछि विवाद हुँदै आएको छ । अदालतलेपनि जग्गा पराजुली परिवारको भएको भनेर फैसला गरिसकेको पराजुली समाजको दाबी छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







