उच्च अदालत पोखराले नेपाल खानेपानी संस्थानलाई स्वच्छ पानी उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको छ । खानेपानी संस्थानले पोखरामा वितरण गरेको पानी पिउन योग्न नभएको भन्दै पोखरेली उपभोक्ताको घरमा आउने पानी वितरणमा रोक लगाउन माग गर्दै अधिवक्ता मिनाकुमारी रानाभाटले दायर गरेको रिटमा सोमबार सुनुवाई गर्दै उच्च अदालत पोखराका न्यायाधीस प्रमोदकुमार श्रेष्ठ वैद्य र विनोदमोहन आचार्यको संयुक्त ईजलासले खानेपानी संस्थानलाई खानेपानीको स्वच्छता कायम गर्न आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ,‘स्वच्छ खानेपानी मानव जीवनको स्वास्थ्यसँग सम्बन्धित भएकोसमेत आधारमा मर्दीखोला खानेपानीको मुहान फोहोर मैला, हिलो मिसिएको पानी, चौपाया आहाल बस्ने, मानव दिशापिसाबलगायत प्रदूषित कार्य गर्ने गरउनेलगायतका मानवीय गतिविधिमा निगरानी गरी, रोकी तात्कालिक अवस्थामा गर्नसक्ने सम्भव भएसम्मको यथोचित प्रभावकारी रुपमा ब्यबस्थापन गर्न बिपक्षीको नाममा आदेश गरिन्छ ।’ साथै खानेपानी संस्थान पोखरालाई आफूले वितरण गरेको खानेपानी पिउन योग्य छ कि छैन भनेर खानेपानीको स्वच्छता पत्ता लगाउन ल्याव परिक्षण गरेर सोको प्रतिवेदन पेशीका दिन पेश गर्न आदेश दिएको छ ।
अदालतले जारी गरेको आदेशानुसार खानेपानी संस्थानले खानेपानीमा स्वच्छता कायम गरे÷नगरेको तथा खानेपानीको मुहानको अवस्था के कस्तो छ ? सो को अनुगमन नियमित रुपमा गरी प्रतिवेदन पेशीका दिन पेश गर्न पोखरा महानगरपालिका र गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलाई आदेश दिइएको छ ।
यसअघी भदौ १७ गते अधिवक्ता मिनाकुमारी रानाभाटले नेपाल खानेपानी संस्था, पोखराले पोखरा नगर क्षेत्रमा वितरण गरेको खानेपानी को धारामा हिलो मिसिएको लेदो, पातपतिङ्गरका टुक्रा, गँड्यौलासमेत आने भई प्रदूषणयुक्त पानी धारामा आउने भएकाले प्रदूषित पानी आपूर्ती नगर्न÷नगराउन माग गर्दै अन्तरिम आदेशको माग गरेकी थिईन् ।
सो मुद्धाको पक्षमा सोमबार बरिष्ठ अधिवक्ता तिलक पराजुली, अधिवक्ताहरु रोहितराज बास्तोला, बिनोद रेग्मी, शालिग्राम भट्टराई, उत्तम केसी र मीनाकुमारी रानाभाटले बहस गरेका थिए । बिपक्षी खानेपानी संस्थानको तर्फबाट भने अधिवक्ता रामचन्द्र न्यौपाने, पोखरा महानगरपालिकाको तर्फबाट अधिवक्ता कमलप्रसाद अर्याल र भौतिक पूर्वाधार मन्त्रालयका तर्फबाट उपन्यायाधिवक्ता दयाशंकर अधिकारीले बहस गरेका थिए ।

नेपालको संविधानले स्वास्थ्य सम्बन्धी हकमा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनेको छ । तर खानेपानी संस्थान, पोखराले वितरण गर्ने खानेपानी बर्खा याममा हरेक वर्ष लेदो आउने गरेको छ । आधुनिक फिल्टर राखेर पानी प्रशोधन नगरी पाईपमार्फत घर÷घरमा पानी पठाउँदा पोखरेली नागरिक बर्खायामको जेठदेखि भदौसम्म करीब ४ महिना लेदो पानी पिउन बाध्य छन् । यद्वपी जाईकाको सहयोगमा संस्थानले पोखरा खानेपानी सुधार आयोजनाको काम गरिरहेको छ । २०७९ साल मंसीरसम्ममा निर्माण सम्पन्न गरेर धाराबाटै पिउन मिल्ने पानी वितरण गर्ने योजना अन्तर्गत काम भइरहेपनि विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९ का कारण काममा सुस्सता आएकाले तोकिएको समयभन्दा केहि ढिलाई हुनसक्ने अनुमान गरिएको छ ।
पोखरा रामबजारको गौरीमार्गस्थित एक सेवाग्राहीको घरमा जोडिएको धारामा नेपाल खानेपानी संस्थान, पोखराले वितरण गरेको पाईपबाट आएको लेदो पानी ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’…






