स्टार्टअप समिट : ‘जागिर खोज्ने होइन, रोजगारी सिर्जना गर्ने उद्यमी बनाउने प्रयास’


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०८३ मा प्रकाशित




पोखरा, कात्तिक १८
व्यवसाय गर्ने सोच छ, तर कहाँबाट सुरु गर्ने ? लगानी कसरी जुटाउने ? बैंकले ऋण दिन्छ कि दिँदैन ? व्यवसाय सुरु गरेपछि बजार पाइएला कि नपाइएला ? लगानी डुब्यो भने के गर्ने ? यस्तै अन्योलले धेरै युवालाई उद्यमशीलतामा प्रवेश गर्नबाट रोकिरहेको छ। स्वदेशमै केही गर्ने सोच हुँदाहुँदै पनि लगानी, अनुभव, बजार र उचित मार्गदर्शनको अभावमा उनीहरू विदेशिने बाटो रोज्न बाध्य छन्।
यही अन्योल चिर्दै युवालाई जागिर खोज्ने होइन, अरूलाई समेत रोजगारी दिने उद्यमी बनाउने उद्देश्यले पोखरामा बुधबार ‘स्टार्टअप नेपाल समिट–२०२६’ आयोजना गरिएको छ। नयाँ पुस्तालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने, उनीहरूका नवीन सोचलाई व्यवसायमा रूपान्तरण गर्ने र सम्भावित लगानीकर्तासँग जोड्ने उद्देश्यसहित नीति रिसर्च प्रालिले समिट आयोजना गरेको हो। ‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने अभियानसहित आयोजित समिटमा स्टार्टअपका सम्भावना, लगानीका स्रोत, बैंकिङ कर्जा, व्यवसाय सञ्चालनका चुनौती, लगानीको सुरक्षा र प्रविधिको प्रयोगलगायत विषयमा छलफल भयो। छलफलमा युवाका व्यावसायिक अवधारणालाई व्यवहारमा उतार्न सरकार, बैंक तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा वक्ताहरूले जोड दिए।
नीति रिसर्चकी अध्यक्ष शोभा ज्ञवालीले युवालाई जागिर खोज्नेभन्दा जागिर सिर्जना गर्ने उद्यमी बनाउने लक्ष्यसहित अभियान सुरु गरिएको बताइन्। उनका अनुसार युवासँग नवीन सोच र व्यवसाय गर्ने उत्साह भए पनि त्यसलाई कार्यान्वयन गर्ने अवसर, लगानी र मार्गदर्शनको अभाव छ। यही अभाव पूरा गर्न समिटलाई लगानीकर्ता, बैंक तथा वित्तीय संस्था र नयाँ उद्यमीबीचको साझा मञ्चका रूपमा विकास गर्न खोजिएको हो।
‘व्यवसाय गर्न चाहेको नयाँ पुस्ता कताकता अलमलिएको छ। उनीहरूलाई उचित मार्गदर्शन गर्न नसक्दा व्यवसायमा हात हाल्न सकेका छैनन्। कुन आकारको व्यवसाय गर्न सकिन्छ र कसले सहयोग गर्छ भन्ने पनि थाहा छैन,’ उनले भनिन्, ‘यो कार्यक्रममार्फत लगानीकर्ता, व्यवसाय सुरु गर्न चाहने नवयुवा र उपलब्ध अवसरबीच सम्बन्ध स्थापित गर्न खोजिएको हो।’. समिटले युवालाई व्यवसायको अवधारणा निर्माणदेखि योजना तयार पार्ने, लगानी जुटाउने र व्यवसाय सञ्चालन गर्नेसम्म सहजीकरण गर्ने ज्ञवालीले बताइन्। एआई तथा डिजिटल प्रविधिको प्रयोगमार्फत नेपाली स्टार्टअपलाई विश्व बजारसँग जोड्ने पनि कार्यक्रमको लक्ष्य रहेको उनले जानकारी दिइन्।
ज्ञवालीका अनुसार पोखराबाट सुरु भएको प्रदेशस्तरीय समिट अन्य छ प्रदेशमा पनि आयोजना हुनेछ। सबै प्रदेशका सम्भावना र चुनौती फरक भएकाले स्थानीय स्रोत, उत्पादन र व्यवसायका अवसर पहिचान गर्ने उद्देश्यले प्रदेशस्तरमा कार्यक्रम गर्न लागिएको हो। प्रत्येक प्रदेशबाट उत्कृष्ट अवधारणा र सम्भावना भएका चारदेखि पाँचवटा स्टार्टअप छनोट गरी काठमाडौंमा अन्तिम सम्मेलन आयोजना गर्ने योजना छ। त्यसबाट नेपाली नवउद्यमीलाई स्वदेशी तथा विदेशी लगानीकर्तासँग जोड्ने र प्रारम्भिक पुँजी तथा बैंकिङ साझेदारीको वातावरण बनाउने उनले बताइन्।
उनले स्टार्टअप प्रवर्द्धनका लागि सरकारले व्यवसाय दर्ता तथा सञ्चालन प्रक्रिया सरल बनाउनुपर्ने, सहुलियतपूर्ण कर्जा सहज बनाउनुपर्ने र धितोबिनै ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने सुझाव दिइन्। नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धन सरकारले आफ्नै निकायबाट सुरु गर्नुपर्ने उनको भनाइ छ। उत्पादनको गुणस्तरसँगै लेबलिङ, प्याकेजिङ र ब्रान्डिङमा पनि ध्यान दिनुपर्ने उनले बताइन्। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्टार्टअप प्रवर्द्धनका लागि सरकारले दिएको अनुदानको अपेक्षाकृत सदुपयोग हुन नसकेको बताए। प्रदेश सरकारले उत्पादनमा आधारित र समान सहभागितामा आधारित अनुदानको व्यवस्था गर्दै आएको भए पनि त्यसबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेको उनको भनाइ छ।
स्टार्टअप गण्डकी कार्यक्रममार्फत नयाँ उद्यम सुरु गर्न चाहनेलाई अनुदान उपलब्ध गराइएको भए पनि कतिपय स्टार्टअप कार्यक्रममा सहभागी नै नभएको र सहभागी भएकाले पनि अपेक्षाअनुसार काम गर्न नसकेको उनले बताए। सरकारले उद्योग र किसानबीच समन्वय तथा सहकार्यको वातावरण निर्माण गर्दै पुलको काम गरिरहेको उल्लेख गर्दै उनले पुरानालाई गाली गरेर मात्रै देश नबन्ने बताए। आफूहरूलाई प्रतिस्थापन गर्नेगरी नयाँ पुस्ता उद्यममा आउनुपर्ने उनको सुझाव थियो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्टार्टअपलाई देशको आवश्यकता भएको बताए। महानगरले व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उनले व्यवसाय गर्न चाहनेलाई तालिम, सुरुवाती पुँजी र व्यवसाय सञ्चालनका क्रममा समस्या आए बिजनेस क्लिनिकमार्फत परामर्श उपलब्ध गराउँदै आएको बताए। विद्यार्थीलाई पढाइ पूरा भएपछि विदेश जाने सोच बनाउनुभन्दा स्वदेशमै उद्यम गर्ने लक्ष्य राख्न उनले आग्रह गरे। नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद अमिर खानले प्रविधि र नवप्रवर्तनलाई उद्यमशीलतासँग जोड्न सके नेपालमै पर्याप्त अवसर सिर्जना गर्न सकिने बताए। पाकिस्तानको स्टार्टअप विकाससम्बन्धी अनुभव पनि नेपाली युवाका लागि उपयोगी हुन सक्ने उनको भनाइ थियो। समिट आयोजनामा पाकिस्तानी राजदूतावासले समेत सहकार्य गरेको उनले जानकारी दिए।
गण्डकी प्रदेश सरकारकी प्रमुख सचिव आभा श्रेष्ठ कर्णले नेपालमा प्राकृतिक स्रोत, साधन र युवा जनशक्तिको पर्याप्त सम्भावना रहेकाले त्यसको सदुपयोग गर्नुपर्ने बताइन्। स्वदेशमै उपलब्ध स्रोत पहिचान गरी नवीन सोच र सिर्जनशीलताका साथ उत्पादन तथा रोजगारी सिर्जनामा लाग्न उनले युवालाई आग्रह गरिन्।
समिटमा सहभागी बैंकका प्रतिनिधिले व्यावसायिक अवधारणा, प्रभावकारी प्रस्तावना र स्पष्ट व्यावसायिक योजना भए धितोबिनै पनि स्टार्टअपका लागि कर्जा उपलब्ध गराउन सकिने बताए। कर्जा दिनुअघि व्यवसायको सम्भावित भविष्य, व्यावसायिक योजना र ऋण तिर्न सक्ने क्षमताको मूल्यांकन गरिने उनीहरूको भनाइ थियो।
नबिल बैंकका गण्डकी प्रदेश प्रमुख हरि ढकाल र माछापुच्छ्रे बैंकका गण्डकी प्रदेश प्रमुख नारायण केसीले स्टार्टअप प्रवर्द्धनमा बैंकिङ क्षेत्रको भूमिका र उपलब्ध वित्तीय सेवाबारे प्रस्तुति दिएका थिए। तर, बैंकले कर्जा दिन सक्ने बताए पनि युवाको मुख्य चिन्ता व्यवसायमा हुने जोखिम र त्यसको जिम्मेवारी कसले लिने भन्नेमा देखियो। विद्यार्थी जोन श्रेष्ठले विदेश जाने प्रयोजनका लागि सहजै ऋण उपलब्ध हुने भए पनि स्वदेशमै व्यवसाय गर्छु भन्दा बैंक र अभिभावकले विश्वास गर्ने आधार के हो भन्दै प्रश्न गरे। व्यवसाय घाटामा गए त्यसको क्षतिपूर्ति कसले व्यहोर्ने भन्ने उनको जिज्ञासा थियो।
विद्यार्थी इस्मि श्रेष्ठले पनि विदेश जान्छु भन्दा अभिभावकले ऋण तथा आर्थिक सहयोग गर्ने तर स्वदेशमै व्यवसाय गर्छु भन्दा आवश्यक सहयोग नगर्ने प्रवृत्तिबारे प्रश्न उठाइन्। अभिभावकले धितो उपलब्ध नगराए पनि बैंकले स्टार्टअपका लागि बिनाधितो कर्जा दिन सक्छ कि सक्दैन भन्ने उनको चासो थियो।
कार्यक्रममा इन्जिनियर उमेशकुमार गुप्ताले स्टार्टअपका लागि लगानीकर्ता र बैंक तथा वित्तीय संस्थाबीच सम्बन्ध स्थापित गर्न यस्ता कार्यक्रमले पुलको काम गर्ने बताए। लगानीकर्ताका लागि पनि नयाँ व्यावसायिक अवसर पहिचान गर्ने माध्यम यस्ता सम्मेलन बन्न सक्ने उनको भनाइ थियो।
समिटको मूल सन्देश युवालाई उद्यम गर्न आह्वान गर्नु मात्रै होइन, उनीहरूले देखेको सपना व्यवहारमा उतार्न लगानी, बजार, प्रविधि र संस्थागत सहयोगको बाटो पहिल्याउनु हो। युवालाई स्वदेशमै रोक्ने बहस लामो समयदेखि हुँदै आए पनि त्यसलाई व्यवहारमा उतार्न उद्यम सुरु गर्ने वातावरण र जोखिम वहन गर्ने विश्वासिलो आधार निर्माण गर्नुपर्ने चुनौती भने अझै कायमै छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।