चलचित्र ‘पाँच पाण्डव’ले पायो, ‘युनिभर्सल सर्टिफिकेट’,कार्तिक २० गतेदेखि प्रदर्शनमा आउँने


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०८३ मा प्रकाशित




चलचित्र ‘पाँच पाण्डव’ले सेन्सर बोर्डबाट प्रदर्शनको अनुमति पाएको छ । फिल्मको प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्डमा उजुरी परे पनि बोर्डले भने फिल्मलाई कुनै रोकटोक नगरी प्रदर्शन अनुमति दिएको निर्माण पक्षले जनाएको छ ।

बोर्डले फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी ‘युनिभर्सल सर्टिफिकेट’ प्रदान गरेको हो । यससँगै फिल्म प्रदर्शनको बाटो खुलेको छ ।महाभारतका पात्रलाई बिम्बका रूपमा प्रस्तुत गरिएको फिल्म ‘पाँच पाण्डव’ कार्तिक २० गतेदेखि प्रदर्शनमा आउँदैछ । तर, प्रदर्शनको मिति नजिकिँदै गर्दा फिल्मका केही दृश्य र प्रस्तुतीकरणलाई लिएर सामाजिक सञ्जालमा बहस र विवाद चर्किएको छ ।विशेषगरी फिल्मको पोस्टरमा द्रौपदीका रूपमा प्रस्तुत गरिएकी इभा गिरीलाई ‘राजा चाहिया छ’ गीतमा बोल्ड अवतारमा देखाइएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको थियो । महाभारतका पात्र र धार्मिक सन्दर्भलाई प्रयोग गरिएको फिल्ममा पात्रहरूको प्रस्तुतिलाई लिएर विभिन्न टीकाटिप्पणी भएका छन् ।

चलचित्र प्रदर्शनको मिति नजिकिदैं गर्दा अभिनेता महेश त्रिपाठीले मनुस्मृतिको एक श्लोक उद्धृत गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, “धैर्य, आत्मसंयम, शुद्धता, विवेक, ज्ञान, सत्य र क्रोधमाथिको नियन्त्रण धर्मका दश लक्षण हुन् । मानिसले आफूलाई धार्मिक भन्नुअघि यी गुण आफ्नो व्यवहारमा छन् कि छैनन् भनेर हेर्नुपर्छ ।”नेपाली चलचित्र क्षेत्रमा प्रतिभाशाली र बहुमुखी अभिनेताका रूपमा परिचित त्रिपाठीले यो अभिव्यक्ति फिल्म ‘पाँच पाण्डव’सँग सम्बन्धित आफ्नो चरित्रको तस्बिर सार्वजनिक पनि गरेका छन् ।

अभिनेता त्रिपाठीको धार्मिक दर्शनसँग जोडिएको अभिव्यक्ति र फिल्मको चरित्र प्रस्तुतिलाई लिएर भइरहेको बहसका बीच ‘पाँच पाण्डव’ दर्शकमाझ आउन लागेको छ । फिल्ममा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, विनोद न्यौपाने, इभा गिरी, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकारलगायतका कलाकारको अभिनय रहेकोछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।