अक्सफोर्डको प्रतिश्पर्धामा मदरल्याण्ड माविका विद्यार्थी प्रथम


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०८३ मा प्रकाशित




बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजित ‘अक्सफोर्ड सइद क्लाइमेट टेक च्यालेन्ज–२०२६’ मा नेपाली टिम प्रथम भएको छ ।

पोखरा–७ मासवारस्थित मदरल्याण्ड माविका विद्यार्थीले नेपालको प्रतिनिधित्व गर्दै उक्त प्रतिश्पर्धामा सहभागि भएका थिए । त्यही टिम विभिन्न मुलुकका प्रतिश्पर्धीलाई पछाडि पार्दै प्रथम भएको हो ।प्रतियोगितामा विश्वका ८३ देशका दुई हजारभन्दा बढी टोली सहभागी भएका थिए । तीमध्ये नेपाली टोली अन्तिम पाँच प्रतिस्पर्धीमा छनोट हुँदै विजेता बन्न सफल भएको हो । प्रतियोगितामा मदरल्याण्ड माविमा कक्षा १२ मा अध्ययनरत विज्ञान संकायका विद्यार्थीहरु ओमकार बराल, विवेक सुवेदी र ओम विक सहभागी भएका थिए । उनीहरुको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो । विश्वका विभिन्न देशका टोलीसँग प्रतिस्पर्धा गरेर प्राप्त गरेको यो सफलतालाई नेपाली विद्यार्थीका लागि अन्तर्राष्ट्रियस्तरको महत्वपूर्ण उपलब्धिका रुपमा लिएको विद्यार्थीलाई सहजीकरण गरेका विद्यालयका शिक्षक बामन घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार अक्सफोर्ड विश्वविद्यालय अन्तर्गत ३९ वटा कलेज रहेकोमा सइद बिजनेस स्कुुलले यो प्रतियोगिता आयोजना गरेको थियो । चौथो पटक यो कार्यक्रम आयोजना गरिएको थियो ।

अघिल्लो वर्ष यस्तै कार्यक्रममा विभिन्न ७२ वटा मुलुकका १६ सय टोलीले सहभागिता जनाएका थिए । यो पटक नेपालसहित ८३ वटा मुलुकका २ हजार बढि टिमले सहभागिता जनाएकोमा नेपालको तर्फबाट सहभागि एकमात्र मदरल्याण्डको टिम प्रथम भएको घिमिरेले बताए । घिमिरेका अनुुसार सहभागि टिममध्ये नेपाल सहित पाँचवटा मुलुकका टिमलाई उत्कष्ट छानेर प्रतिश्पर्धा गराईको थियो । जहाँ विज्ञहरुको समूहले विद्यार्थीको प्रस्तुतीलाई नियालेका थिए । त्यही प्रतिश्पर्धाका आधारमा नेपाली टिम पहिलो, अमेरिकी टिम दोश्रो र बेलायती टिम तेश्रो बनेका थिए । घिमिरेका अनुसार गाउँघरमा सुक्दै गएका पानीका मूललाई जोगाउनका लागि गर्न सकिने अभ्यासबारे विद्यार्थीले प्रस्तुती दिएका थिए । खानेपानीको अभावलाई पूरा गर्ने उपायमा आधारित भएर यो प्रतिश्पर्धा आयोजना गरिएको थियो । प्रथम भएको यो टिमले आगामि जुलाईमा अक्सफोर्ड विश्वविद्यालयमा आयोजित १५ दिने समर क्याम्पमा सहभागि हुन पाउने विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए ।

विद्यालय प्राचार्य डा. नारायण बरालले मदरल्याण्डका विद्यार्थीको यो क्षमताले समग्र नेपाली विद्यार्थीको क्षमतालाई प्रतिनिधित्व गर्ने बताए । मदरल्याण्डका विद्यार्थीले उजागर गरेको विषय सबै मुलुकका लागि उदाहरणीय बनेको पनि बरालले बताए । जलवायु परिवर्तनका चुनौती समाधान गर्न प्रविधिको प्रयोग र नयाँ सोचलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली विद्यार्थीले हासिल गरेको यस सफलताले नेपालको शैक्षिक तथा सिर्जनात्मक क्षमतालाई विश्वमञ्चमा चिनाउन सफल भएको प्राचार्य बरालले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।