‘देशको वित्तीय अवस्था, झन्झन् खराब हुने आशंका’


     बिश्व मोहन अधिकारी    
     कार्तिक १ गते २०७७ मा प्रकाशित




बिश्वव्यापी महामारी (कोभिड–१९) को संक्रमणको समय लम्बिदै जाँदा विश्वको अर्थतन्त्र नकारात्मक गतितर्फ फैलिरहेको अवस्थामा नेपालको अर्थतन्त्र कस्तो अवस्थामा रहला ? चिन्ताको विषय रहेको छ । निर्वाहमूखी र आयातमा आधारित अर्थतन्त्र भएका कारण नेपालको अर्थतन्त्रमा भनिएजस्तो र अन्य मूलुकको जस्तो नकरात्मक असर नपर्ने आंकलन गर्न सकिन्छ । तथापी अल्पकालमा यस्तो परिदृश्य देखिएतापनि पूँजीगत खर्चमा आएको कमी र स्थिर भनिएको सरकारमा पनि देखिएको अस्थिर कार्य ब्यबस्थाले गर्दा दीर्घकालमा (कोभिड–१९)को प्रभाव परिकल्पना गरिए भन्दा खराब अबस्था आउन सक्ने देखिन्छ ।

आर्थिक वर्ष २०७७÷७८ को बजेटले लिएको आर्थिक बृद्धि दरको लक्ष्य ७.५ प्रतिशतलाई परिमार्जन गरि करीब २ प्रतिशतको लक्ष्य लिइरहँदा भर्खरै मात्र विश्व बैंकले नेपालको आर्थिक बृद्धिदर सन २०२० मा ०.२ प्रतिशत र २०२१ मा ०.६ प्रतिशतको प्रक्षेपण गरेको छ । विकास खर्च संकुचित भएर स्वास्थ्य क्षेत्रमा अत्यधिक खर्च बढ्दा सन्तुलन मिलाउन सरकारलाई कठीन भईरहेको छ । तथापि सरकार चालु बर्षमा पूँजीगत खर्च बढाउने तयारीमा रहको छ भनिन्छ । हाल लकडाउन वा निषेधाज्ञा नगरि आर्थिक गतिविधि बढाउने मनस्थितिमा सरकार देखिन्छ । तर आर्थिक गतिविधिलाई निरन्तरता दिन चाहेको सरकारले कुनै राहत प्याकेज पुनः ल्याउने त भने तयारी गरेको देखिदैन ।

आर्थिक बर्ष २०७७/७८ को पहिलो महिनाको तथ्यांकमा आधारित भएर वर्तमान आर्थिक तथा वित्तीय स्थितिको मूल्यांकन गर्दा आत्तिहाल्नु पर्ने अबस्था देखिदैन । केही समय अघि सुस्ताएको अर्थतन्त्र बिस्तारै लयमा फर्कनका लागि नेपालको संविधानले नै ब्यबस्था गरी २०७७ जेठ १५ गते ल्याईएको आ.व.२०७७/७८ को बार्षिक बजेट र त्यहि बजेटका नीति तथा कार्यक्रमलाई सहयोग पुग्ने गरि ल्याइएको मौद्रिक नीति २०७७/७८ को सफल कार्यान्वयन आवश्यक छ । यस सबमीक्षा अवधिमा अर्थतन्त्र मापन गर्ने सूचांकहरु आयात, निर्यात, राजश्व संकलन तथा पूँजीगत खर्च र बिभिन्न आर्थिक गतिविधिहरुलाई यसरी बिश्लेषण गर्न सकिन्छ

मूद्रा स्फीतिः

यस आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा समग्र मुद्रा स्फीति ३.४९ प्रतिशत रहेको छ । गत आर्थिक बर्षको यहि महिनामा ६.९५ प्रतिशत रहेको थियो । यसमा मुख्य भूमिका २०७७ साउनमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादरमा १.३४ प्रतिशत मात्र बृद्धि हो । सरकारको मुख्य चुनौति भनेको यहि मुद्रास्फीतिलाई कायम राख्नु हो जुन असम्भव प्रायः छ ।

बैदेशिक ब्यापारः

आर्थिक वर्ष २०७७÷७८ को पहिलो महिनामा कूल बस्तु निर्यात ८.९ प्रतिशतले बृद्धि भई रु ९ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो बर्षको यहि अवधिमा यस्तो निर्यात २७.७ प्रतिशतले बृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकान क्रमशः ४.४ प्रतिशत र २५.५ प्रतिशतले निर्यात बृद्धि भएको छ भने चीनमा ७१.७ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७७÷७८ को पहिलो महिनामा कुल वस्तु आयात १९.६ प्रतिशतले घटेर रु ८५ अर्ब ८१ करोड कायम भएको छ । अघिल्लो आर्थिक बर्षको यहि अवधिमा यस्तो आयात ११.५ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.८ प्रतिशत, ३९.७ प्रतिशत र १०.५ प्रतिशतले घटेको छ । दुखको कुरा खाद्यान्न पदार्थको आयात बढेको र निर्माण तथा उत्पादनमुखी सामाग्रीहरुको आयात घटेको छ । कृषि प्रधान मुलुक भएर पनि कोदो र फापर पनि आयात गर्नुपर्ने अवस्थाको परिणाम भबिष्यमा हाम्रो अर्थतन्त्र अझ परतन्त्रमुखी हुने संभावना बढ्दो देखिन्छ ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा कुल वस्तु ब्यापार घाटा २२.२ प्रतिशतले घटेर रु ७६ अर्ब १९ करोड कायम भएको छ । जसको मुख्य कारण सुन तथा अल्कोहल आयातमा सरकारले गरेको कडाईको मुख्य भूमिका देखिन्छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो घाटा १३.९ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात आयात अनुपात ११.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो अनुपात ८.३ प्रतिशत रहेको थियो ।

विप्रेषण आप्रवाहः

आर्थिक बर्ष २०७७/७८ को पहिलो महिनामा विप्रेषण आप्रवाह २३.० प्रतिशतले बृद्धि भई रु ९२ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो बर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो बर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो । सोहि अवधिमा वैदेशिक रोजगारका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो संख्या १९.० प्रतिशतले घटेको थियो । बैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८०.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यहि अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो । यस अवधिमा विप्रेषण आप्रवाह बढ्नुको मुख्य कारणमा विप्रेषण आप्रवाह औपचारिक माध्यमबाट हुनु र घर फर्कदा झिटी गुण्टा सहित सबै कारोबार मिलान गर्नु नै रहेको छ ।

रोजगारको अबस्थाः

एक अनौपचारीक अध्ययन अनुसार २०७७ साल साउनमा नेपालमा बेरोजगारी दर २३ प्रतिशत रहेको पाइएको छ । बिदेशमा रोजगार गुमाएर अथवा अन्य कारणले नेपाल आउन चाहने नेपालीको संख्या पनि उल्लेख्य पाइन्छ । सरकारलाई कोभिड नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने हुन्छ जसका लागि विदेशबाट आउनेलाई निगरानी गर्नैपर्ने बाध्यता छ भने अर्कोतर्फ ब्यबसाय पनि चलाउनुपर्ते चुनौती छ । स्वदेशी कामदारलाई दक्ष बनाउने अवसरका रुपमा यस अवस्थालाई लिनुपर्ने हुन्छ । कोभि–१९ का कारण गाउँ गाउँ पुगेका युवालाई गाउँमा नै रोजगारको सृजना गर्न सक्ने हो भने एकातिर बेरोजगार दर घटाउन सकिन्छ भने अर्को तर्फ दक्ष कामदारको अभाव समेत हट्न सक्दछ । अर्कोतर्फ बार्षिक ४-५ लाख ब्यक्तिहरु नेपालको रोजगार बजारमा कामका लागि थपिन्छन् जसको ब्यबस्थापन चुनौतीपूर्ण हँुदै गएको छ ।

चालु खाता र शोधान्तर स्थितिः

यस अवधिमा चालु खाता रु २५ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो बर्षको यहि अवधिमा चालु खाता रु ९ अर्ब ३४ करोडले घाटामा रहेको थियो । समीक्षा अवधिमा शोधान्तर स्थिति रु ५१ अर्ब ४६ करोडले बचतमा रहेको छ । अघिल्लो बर्षको सोही अबधिमा शोधान्तर स्थिति रु ६ अर्ब ५ करोडले बचतमा रहेको थियो । देशभरी लकडाउनका कारण आयातमुखी अर्थतन्त्रले बस्तु तथा सेवाको आयात गर्न नसक्दा यो परिस्थितिको सृजना भएको छ ।

कूल विदेशी विनिमय संचितिः

यस २०७७ आषाढ मसान्तमा रु १४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदशी विनिमय संचिति २.५ प्रतिशतले वृद्धि भई २०७७ साउन मसान्तमा रु १४३६ अर्ब ७३ करोड पुगेको छ । २०७७ साउन मसान्तको कुल विदेशी विनिमय संचितिमा भारतीय मुद्राको अंश २३.० प्रतिशत रहेको छ । यस साउन महिना सम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय संचिति १७.३ महिनाको वस्तु आयात र १५.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय संचितिको कुल ग्राह्स्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३८.१ प्रतिशत, १२९.७ प्रतिशत र ३३.८ प्रतिशत रहेका छन् । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।

वित्त घाटा र बचत ः

२०७७ साउन मसान्तमा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति रु ५८ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो बर्षको यहि अवधिमा सरकारी वित्त स्थिति रु ७६ अर्ब ९७ करोडले बचतमा रहेको थियो । चालु आर्थिक बर्षको पहिलो महिना भएकाले सरकारलाई केहि सहज देखिएता पनि आगामी महिना भने यति सहज देखिदैन् ।

खर्च तथा राजश्वः

यस आर्थिक बर्षको साउन महिनामा बैंकिङ कारोबारमा आधारित संघीय सरकारको कुल खर्च रु १ अर्ब ९५ करोड रहेको छ । अघिल्लो बर्षको यहि अवधिमा यस्तो खर्च रु २ अर्ब ६२ करोड रहेको थियो । समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित राजश्व संकलन रु ५८ अर्ब ८१ करोड रहेको छ । अघिल्लो बर्ष सोही अवधिमा कुल राजश्व संकलन रु ७७ अर्ब ५३ करोड रहेको थियो । यसरी राजश्व संकलन र खर्चका दृष्टिकोणले यो समय कमजोर साबित भएको छ । कोरोना महामारीले राजश्व आम्दानी घटाएको बेला आगामी महिनाहरु पर्वको महिना भएकाले ठूलो खर्च हुँदा सरकारको नगद मौज्दात रित्तिन सक्ने संभावना देखिन्छ । राजश्वसहित नगद पुरै सकिएमा सरकार वर्षको शुरुमै आन्तरिक ऋण लिन बाध्य हुनुपर्ने हुन्छ । गत वर्ष तेस्रो चौमासिक तिर मात्र ऋण उठाइएको थियो ।

मौद्रिक स्थितिः

आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा विस्तृत मुद्राप्रदाय ०.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यहि अवधिमा उक्त मुद्राप्रदाय ०.४ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ साउन मसान्तमा विस्तृत मुद्राप्रदाय १८.९ प्रतिशतले बढेको छ । समीक्षा अबधिमा खुद्रा बैदेशिक सम्पत्ति रु ५१ अर्ब ४६ करोडले बढेको छ । अघिल्लो वर्षको यहि अवधिमा उक्त सम्पती रु ६ अर्ब ५ करोडले बढेको थियो । समीक्षा अवधिमा संचित मुद्रा १.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यहि अवधिमा यस्तो मुद्रा ६.२ प्रतिशतले घटेको थियो । यस अवधिमा कुल आन्तरिक कर्जा १.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यहि अवधिमा उक्त कर्जा १.१ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ साउन मसान्तमा यस्तो कर्जा १३.३ प्रतिशतले बढेको छ ।

निक्षेप परिचालन :
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ०.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यहि अवधिमा यस्तो निक्षेप ०.४ प्रतिशतले घटेको थियो । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र निजी क्षेत्रतर्फको कर्जा प्रवाह विस्तार हुन सकेको छैन् । वार्षिक बिन्दुगत आधारमा २०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १९ प्रतिशतले बढेको छ । अनपेक्षित रुपमा चालु आर्थिक बर्षको पहिलो महिनामा विप्रेषण आयमा भएको बढोत्तरीले आगामी महिना पनि निक्षेप परिचालन सहज देखिन्छ ।

कर्जा प्रवाहः

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.५ प्रतिशतले घटेको छ । अघिल्लो बर्षको यहि अवधिमा यस्तो कर्जा ०.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १०.८ प्रतिशतले बढेको छ । आर्थिक बर्ष २०७७/७८ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जा मध्ये कृषि क्षेत्रतर्फको कर्जा १.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.४ प्रतिशतले, थोक तथा खुद्रा ब्यापार क्षेत्रतर्फको कर्जा १.६ प्रतिशतले घटेको छ भने निर्माण क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले बढेको छ । कोभिड–१९ को कारण सिङ्गो देश नै ठप्प भएकाले आगामी महिना पनि यहि परिस्थिति हुने देखिन्छ ।

तरलता ब्यबस्थापन :

आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा रिभर्स रिपोमार्फत् रु ६० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको यहि अवधिमा निक्षेप संकलन उपकरण मार्फत रु ३० अर्ब तरलता प्रशोचन भएको थियो भने स्थायी तरलता सुविधामार्फत रु ३० अर्ब ३० करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर ३२ करोड बिक्री गरी रु ३८ अर्ब ३७ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्ष अमेरिकी डलर ४२ करोड बिक्री गरी रु ४६ अर्ब ८१ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो । यसरी देशले अमेरिकी डलर बिक्री गरी सँधै भारतीय मुद्रा खरिद गर्नु पर्ने स्थितिको अन्त्य गर्न अत्यावश्यक भईसकेको छ । यस अबधिमा आंकलन गरिए भन्दा विपरीत तरलताको अवस्था अनुकूल रह्यो । अझ भन्नु पर्दा आवश्यक भन्दा बढी तरलता भएर नेपाल राष्ट्र बैंकले तरलता ब्यबस्थापनका उपकरणहरुको समेत उपयोग गरेको छ । यसको सामान्य अर्थ ब्यापार ब्यबसाय संचालनका लागि प्रतिकुल अबस्थाको सृजना हुन्न भन्ने बुझिन्छ ।

ब्याजदरः

२०७६ साउनमा ९१ दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.२१ प्रतिशत रहेकोमा २०७७ साउनमा पनि ०.२१ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर बैंक कारोबारको भारित औषत ब्याजदर २०७६ साउनको १.१९ प्रतिशतको तुलनामा २०७७ साउनमा ०.०२ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुको औषत आधार दर २०७६ साउनमा ९.४५ प्रतिशत रहेकोमा २०७७ साउनमा ८.०८ प्रतिशत कायम भएको छ । २०७७ साउनमा बाणिज्य बैंकहरुको निक्षेपको भारित औषत ब्याजदर ५.७७ प्रतिशत र कर्जाको भारित औषत ब्याजदर १०.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यहि महिनामा यी दरहरु ६.७७ प्रतिशत र १२.०८ प्रतिशत रहेका थिए । यस समीक्षा अवधिमा निजी क्षेत्रलाई पेशा, ब्यबसाय र विकास निर्माणको काममा स्रोतको अभाव नहुने अबस्था सृजना भएको देखिन्छ भने निक्षेपकर्ताहरु निरुत्साहित भएका छन् ।

मर्जर र प्राप्तिः

वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्धेश्यले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात २०७७ साउन मसान्तसम्म कुल १९८ बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १५१ संस्थाहरुको इजाजत खारेज हुन गई ४७ संस्था कायम भएका छन् । यसैगरी लघुवित्त संस्थाहरु मर्ज तथा एक्वीजिसनमा होमिरहेको अबस्थामा बाणिज्य बैंकबाहेक बिकास बैंक, वित्त कंपनी तथा लघुवित्त संस्थाहरुमा नेपाल राष्ट्र बैंक सफल देखिन्छ ।

वित्तीय पहुँचः

देशमा रहेका कुल ७५३ स्थानीय तहमध्ये २०७७ साउनसम्म ७४७ तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार भएको छ । २०७६ साउनसम्म ७३७ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार भएको थियो । नेपाल राष्ट्र बैकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७७ साउन मसान्तमा १५३ कायम भएको छ । यस अनुसार २७ वाणिज्य बैंक, २० विकास बैंक, २१ वित्त कम्पनी, ८४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैक संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७ साउन मसान्तमा ९८१३ पुगेको छ । यसरी पछिल्ला बर्षहरुमा वित्तीय पँहुचका दृष्टीकोणले नेपाल निकै अगाडी बढी सकेको छ ।

बिधुुतीय भुक्त्तानी कारोबार :
विधुतीय भुक्तानी पुर्वाधारमा भएको विकास, विधुतीय भक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र २०७६ चैत्र ११ गतेबाट लगाइएको लकडाउनका कारण सर्वसाधारणको विधुतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण पनि विधुतीय कारोबारमा उल्लेख्य वृधि भएको छ । वित्तीय पहुँचका नाममा जथाभावी रुपमा खोलिएका बैंक तथा वित्तीय संस्थाका शाखाहरुको औचित्य माथि बढिरहेको बिधुतीय भुक्तानी कारोबारले प्रश्न चिह्न खडा गरीरहेको छ।

पूँजी बजारः

गत आर्थिक वर्षको साउन मसान्तमा १२२४ विन्दुमा रहेको नेप्से सूचकाङक् २०७७ साउनमा १३९१.५ पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचाकाङ्क १३६२.४ रहेको थियो । २०७७ साउन मसान्तमा धितोपत्र बजार पूजीकरण रु १८३६ अर्ब ७९ करोड पुगेको छ । २०७७ आसार मसान्तमा बजार पूँजीकरण रु १७९२ अर्ब ७६ करोड रहेको थियो । २०७७ साउनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरुको संख्या २०८ रहेको छ । सूचीकृत कंपनीहरुमध्ये १४३ बैंक तथा वित्तीय सस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविधुत कम्पनी, १९ उत्पादन तथा प्रशोधन, ४÷४ होटल तथा ब्यापारिक संस्था र ५ अन्य समूहका रहेका छन्। २०७७ असारमा सूचीकृत कंपनीहरुको संख्या २१२ रहेको थियो । सूचीकृत कम्पनीहरु मध्ये बैंक तथा वित्तीय संस्था र बीमा कंपनीको धितोपत्र बजार पूंजीकरणको हिस्सा ७८.३ प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ५.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.५ प्रतिशत, होटलको हिस्सा १.१ प्रतिशत, ब्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कंपनीहरुको हिस्सा ११.६ प्रतिशत रहेको छ। भर्खरैमात्र बामे सरिरहेको नेपालको पूँजीबजारमा धेरै नै सुधारको अपेक्षा गरिएको छ ।

कोभिड–१९ को प्रभावः

कोभिड–१९ संक्रमणका कारण अर्थतन्त्र प्रभावित भएको छ । कोभिडको असरको बिषयमा राष्ट्रिय योजना आयोगले अध्ययन गरिरहँदा हालैमात्र बिश्व बैंकले प्रकाशित विवरण अनुसार कोभिड–१९ को कारण सबैभन्दा बढी गंभिर असर आर्थिक बर्ष २०७७/७८ को बजेट तथा मौद्रिक नीतिले समेत सम्बोधन नगरेको अनौपचारिक क्षेत्रका कामदारहरुलाई परेको छ । यस्तै यसबाट हुने क्षेति विकसित देशको तुलनामा दक्षिण एशियाका अल्प विकसित देशहरुमा अझ बढी पर्न समेत आंकलन गरेको छ । यस बिषम परिस्थितिमा सरकारले फरक ढङ्ग बाट देशमा रहेका सबै स्रोत साधनहरुको उपयोग प्रभावकारी ढंगले गर्नु पर्नेमा सरकार क्रोनि क्यापिटालिजम तर्फ लम्केको आभास हुन थालेको छ । महामारीको असर बाह्य ब्यापार, सरकारको पुँजीगत खर्च र बैंकिङ क्षेत्रको कर्जा लगानीमा बढी देखिएको छ । कोभिड–१९ महामारीका कारण आर्थिक गतिविधि प्रभावित हुँदा औद्योगिक कच्चा पदार्थ, ईन्धन, पूँजीगत वस्तु, यातायातका साधन तथा पार्टस् लगायतका वस्तुहरुको आयात अघिल्लो बर्षको यहि अवधिको तुलनामा घटेको छ । जसको दीर्घकालीन असर भने भोलिका दिनमा मात्र देख्न सकिन्छ ।

लेखक : बिश्व मोहन अधिकारी : बैकर्स बिज्ञ तथा उप–प्राध्यापक त्रि.वि.


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।