प्रिय स्वस्तिका,
हार्दिक स्नेह एवम् आशिर्वाद !
मानव सभ्यताको यो अनन्त यात्रामा केही मान्यताहरु स्थापित भएका छन् । केहि पुराना मान्यताहरु बिस्थापित भएकापनि छन् । मान्यताहरु आवश्यकताले स्थापित हुन्छन् । अनि अनावश्यक्ताले बिस्थापित हुन्छन । तर मानव सभ्यताले थोत्रो पुरानो र अवैज्ञानिक भनेका मान्यताहरु समयको लामो अन्तराल पछि पुर्नस्थापित पनि भएका छन् । त्यसैले पुरानो जति सबै खत्तम अनि नयाँ जति सबै असल भन्ने हुँदैन । न नयाँ जति सबै खराब र पुरानो जति सबै असल भन्ने हुन्छ । मान्यता विज्ञान सम्मत छ कि छैन ? लोकहितकारी छ कि छैन भनेर गम्भीरतापूर्वक जाँच परख गर्नु पूर्व नै अमान्य ठहर गर्नु स्वयममा गम्भीर त्रुटी हुन सक्छ । हाम्रा पुर्खाहरुले स्थापित गरेका केही मान्यता, तिनको बिस्थापन र पुर्नस्थापनको चर्चा गरेर पूर्खाहरु प्रति आदर प्रकट गर्ने अवसरका रूपमा यो पत्रको उपयोग गर्न चाहन्छु । पूर्खाहरुको संस्मरण आफ्नो उद्गम प्रति पनि सम्मान हो जस्तो लाग्छ प्रिय छोरी !
हाम्रा पूर्खाहरु धोती फेरेर खाना खान्थे । त्यसलाई आधुनिकताको नाममा खिसिट्यूरी गरेर उडाइयो । मानौं धोती फेरेर खाना खानु अपराध हो । अन्ध बिश्वास हो । तर पाश्चात्य जगतको अनुशरण गरेर डिनर सुट लगाउनुलाई आधुनिकता ठानियो । आफ्नोलाइ पराइ र पराइलाइ आफ्नो बनाउनुलाइ हामीले अग्रगमन ठान्यौं । हाम्रो संस्कृतिमा हात जोडेर नमस्कार गरेर अभिवादन व्यक्त गर्ने शालीन परम्परामा हामीले हात मिलाउने र अंगालो मार्नेदेखि परि आए गाला र थुतुनो जोडनेपनि गर्न थाल्यौं । स्वास्थ्यका हिसाबले यो कति घातक हो अहिले यो कोरोना महामारीले देखाइसकेको छ ।
बाहिरबाट आएपछि घर पस्नुअघि हात खुट्टा धोएर मात्र घर पस्ने हाम्रा पूर्खाहरुको जीवन शैली वैज्ञानिक कि जुत्तै लगाएर घर प्रबेश गर्न नहिच्किचाउने हाम्रो जीवनशैली आधुनिक ? हिजो हाम्रा पूर्खाहरु जलमा जीवन देख्थे र त्यहाँ देवताको उपस्थितिको अनुभूति गर्थे । त्यसै भावनाबाट उत्प्रेरित भएर खोला, ईनार, नदी, कुवा आदीमा फोहोर गर्नुलाइ पाप मान्थे । आज पाप धर्म केही हुँदैन भन्नू प्रगतिशीलता ठहरियो । समाजको अहितमा गरिने कुनैपनि कार्य पाप हो । समाजको हितमा गरिने कुनैपनि कार्य पूण्य हो । प्रकारान्तरले त्यसको सकारात्मक वा नकारात्मक प्रभाव आफ्नै जीवनमा पनि पर्दछ भन्ने वास्तविकतालाई ईन्कार गरेर बस्न सकिन्छ ? के खोलामा नाला मिसाउनु पाप होइन ? त्यसबाट फैलिने रोग ब्याधी हामी माथी परेको सराप होइन ? प्रकृतिसंग लयबद्ध हुनुको बिकल्प छैन । हाम्रा पूर्खाहरुले प्रकृतिसंग लयबद्ध हुनुलाई आफ्नो जीवन शैली बनाएका थिए । आज प्रकृतिको अनावश्यक दोहन र त्यस उपर विजयको महत्वाकांक्षाले मानव सभ्यता संकटमा छ । छोरी ! जानेर वा नजानेर यो पाप मबाट पनि भएको छ । सायद तिमीबाट पनि भएको छ । हामी प्रकृतिकै अंश हौं । प्रकृतिलाइ हामीले पार्ने बाधा भनेको आत्मघात नै हो । आउ हामी प्रकृतिसंग लयबद्ध भएर बाँच्ने प्रण गरौं ।
तिमीलाई माया गर्ने
तिम्रो बाबा
श्रेष्ठ चर्चित साहित्यकार तथा संस्कृतिकविद् हुन् भने उनले समसामयिक विषयमा कलम चलाउँछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१७ वैशाख । अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदन…






