किसानले उत्पादन गरेको बस्तुको बजार सुनिश्चित सरकारले गर्नुपर्छ : सभापति कोइराला


     एभरेस्ट आवाज    
     कार्तिक २ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेशसभा अर्थ तथा विकास समितिका सभापति सांसद दीपक कोइरालाले किसानले उत्पादन गरेको कृषि उत्पादनको बजार सुनिश्चितता सरकारले गर्नुपर्ने बताएका छन्।

पोखरा–३१, मोहोरीयास्थित आमा मिलन बचत तथा ऋण सहकारी संस्थाको चक्रदेवी सेवा केन्द्रको शुभारम्भ गर्दै सभापति कोइरालाले प्रदेश सरकारले ‘एक सहकारी, एक उत्पादन’ अनिवार्य गरेकोले बजारको सुनिश्चत गर्नुपर्ने प्रष्ट पारे। उनले आमा मिलन बचत तथा ऋण सहकारी संस्था र चक्रदेवी दुग्ध उत्पादक सहकारी मर्ज गरेर राम्रो कामको सुरुआत गरेको बताए।

सरकारले कृषि उपजको न्युनतम मुल्य तोक्नुपर्ने र बजार ब्यवस्थापनमा सहयोग गर्नुपर्ने कुरामा जोड दिँदै कोइरालाले भने, ‘सरकारले किसानहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम अगाडि सारेपनि अझै रिजल्ट देखिनेगरी काम भएको छैन । पशु तथा वाली बीमा सरकारले अनिबार्य गर्नुपर्छ।’

जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सावित्री भण्डारीले मोहोरीयामा सेवा केन्द्र राखेर त्यस क्षेत्रको सहकारी सदस्यहरुलाई सेवा दिन सुरु गरेकोमा खुशी ब्यक्त गरिन्। सहकारी दिगो रुपमा सञ्चालनको लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताइन्।

वडानं ३० का वडाध्यक्ष श्रीराम पोखरेलले सहकारीहरुले आफ्ना सदस्यको आय–आर्जनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले प्रदेश सकारले गण्डकी प्रदेशमा पाउडर प्लान्ट स्थापना गर्नुपर्ने उल्लेख गरे । दुध उत्पादन बृद्धि हुदै जादा किसानले उत्पादन गरेको दुधले बजार नपाउने दिन आउन लागेको बताउँदै तिवारीले भने, ‘यतातर्फ सरकारको ध्यान जानुपर्छ।’

आमा मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष इन्दिरा पौडेलले कास्की जिल्लाभर कार्यक्षेत्र रहेको यस सहकारी संस्थाले उत्पादनको क्षेत्रमा बजार अध्ययन गर्दा चक्रदेवी दूग्ध उत्पादक सहकारी संस्थासँग मर्ज गरेर काम गर्ने अवस्था सृजना भएको उल्लेख गरिन्।

कर्यक्रममा स्थानीय ज्ञानेन्द्र बजगाई, आमा मिलन चक्रदेवी सेवा केन्द्रका संयोजक अर्जुन बञ्जरा, कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुपरजोन कास्कीका संयोजक कृष्णप्रसाद तिवारी लगायतले बोलेका थिए।

संस्थाका प्रवन्धक धु्रवराज पौडेलले दुवै सहकारीको उद्देश्य मिल्न गएकोले मर्ज भएको बताए।
सहकारीको मर्जपछि संस्थाको हाल १५ सय ३५ सदस्य छन् । संस्थाको ४६ करोड पुँजी रहेको छ। संस्थाले ३२ करोड कर्जा लगानी छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।