मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेशप्रमुख सुरेन्द्रलाभ कर्णसँग उनले आज बिहान प्रदेशप्रमुखको कार्यालयमा शपथ लिएका हुन् । मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै नवनियुक्त मुख्यमन्त्री यादवले मधेस प्रदेशमा सर्वदलीय सरकार बनाउने बताएका छन् । उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराई सर्वदलीय सरकार बनाउने बताए । “मेरो चाहना सबै दल मिलेर सरकार बनाउने हो, म त्यही भावनाअनुसार दलहरुसँग छलफल अगाडि बढाउछु,” मुख्यमन्त्री यादवले भने, “मेरो नेतृत्वको सरकारमा सबै दल सहभागी हुन्छ भने मलाई विश्वास छ ।” निर्धारित समयभित्रै प्रदेशसभाबाट विश्वासको मत प्राप्त हुने उनले विश्वास व्यक्त गरे ।
प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न मङ्सिर ४ः०० गते अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए । निर्धारित समयभित्र कुनै पनि दलबाट दाबी पेस नभएपछि प्रदेशसभामा सबैभन्दा बढी सदस्य रहेको दलका संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली पुगेका छन् ।…







