विश्वब्यापी महामारीपको रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को आफू संक्रमित भएको दशौं दिन कसैलाई वडाले त कसैले वडालाई समन्वय गरेर दोश्रो पिसिआर टेष्टको लागि हतार हतारमा कृषि तालिमकेन्द्र मालेपाटन पुगियो पूर्वाह्न ११ः०० बजेको समयमा । लाईन लामै थियो । बसियो चर्को घाममा कोरोनाको लक्षणले निकालेको पसिना भन्दा बढी पसिना चुहाउदै । केहि घण्टाको प्रतीक्षा पछि हाजिरी गरियो र पिसीआरको प्रतीक्षाको लाईन थियो, यत्रतत्र बसियो दुई सय बढिको भेलबाढी बीच । बस्दै गर्दा अर्ध चिनिएका( मास्कले) साथीहरुको उपस्थिती पनि बाक्लिदै गयो । सार्वजनिक भएका र नभएकाहरुको अनुहार र मनमा पीडा सबैको एकै । तर केही मित्रहरुको पीडा भने बेग्लै देखियो । सातांै पटकसम्म पोजेटिभ आएपछि आठांै पटकको पिसीआर गर्न । यी र यस्तै सन्दर्भबीच आयो आदेश पिसीआर स्वाब कलेक्सन लाईनको । फिजाईयो स्वाव लिने सामाग्री वाण्डा माथि लहरै । नम्बर पुकार्दै गईयो फलाना नाम र नम्बर १,२,३, १४१…. आदि आदि ।
हामीपनि व्यग्र नाम आउने प्रतिक्षामा थियौं । साथीहरु एक÷एक गर्दै आफ्नो नाम र मोवाइल नम्बर चेक गर्दै पिसीआरको लागि स्वाव सामाग्री उठाउदै जानुभयो । कसै कसैको स्वाब सामाग्री नउठाउदै भूईमा खस्यो । किनकि स्वाव सामाग्री लेवलिङ गर्दा खुल्ला गरिएको थियो । तर मेडिकल प्रयोजनको लागि कलेक्सन गरिदै गरेको उक्त सामाग्री त्यो अवस्थामा हुनु आफैमा प्रश्नचिह्न त थियो नै । त्यो भन्दा बढी महानगरको प्राविधिक जनशक्ति व्यवस्थापन र जनताको स्वास्थ्यमाथि खेलवाड प्रष्ट देखिन्थ्यो । कोरोना जस्तो विश्वब्यापी महामारी रोगमा यस्तो हर्कत के उचित थियो ? विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.) को मापदण्ड र नेपाल सरकारको मापदण्ड यहि हो ? तर हामी सबैको उत्कट चाहना भनेको स्वाब जसरीपनि दिन र त्यसमापनि आफ्नो पालो चाँडो आए हुन्थ्यो भन्ने नै थियो । हामी भ्रममा थियौं या बाध्यता म दुविधामा थिएँ र छु ।
तँछाडमछाड गरेर स्वाब दिनुपर्ने त्यो ठाउँ युद्धभूमिजस्तै महशुष हुने खालको थियो । जब स्वाब लिन थालियो, बच्चाहरुको चीत्कार आउन थाल्यो । फोटो पत्रकार राम गुरुङ सरको लटररी परेजस्तै गरि जब पालो आयो र स्वाव कलेक्सन भयो राम सर पीडा सुनाउदै आउनु भयो । चार जना मध्ये छेउकोमा नजानुहोला । किन ? भनेर हामीले सोध्यांै, उहाँले भन्नुभयो,–‘सर यहाँ स्वाव दिन हामी आएका होइनौं नाक र घाँटी छेड्न आएका हौजस्तो हुन्छ ।’ त्यसैले पो रहेछ बच्चाहरुको केहि समय अगाडि चीत्कार आएको भन्ने बल्ल पो थाहा भो । यो रिसिबी थियो भनांै भने, उहाँहरु सँगको पहिलो भेट हो । थिएन भनांै भने हाम्रो नाक र घाँटी सुरक्षित थिएन । यति मात्र कहाँ होर ? सरकारले लाखौं करोडौं बजेट स्वास्थ्य प्रोटोकल र जनचेतना जगाउन निर्देशन दिदै संचार माध्यम र सामाजिक संञ्जालमा खर्च गरिरहेको छ । ब्यबहारमा सरकारका प्रतिनिधि, कर्मचारीहरुले एक पछि अर्को स्वाब लिदै गर्दा पञ्जा त फेरिएन, फेरिएन, सेनिटाईजर पनि औपचारिकताको लागि मात्र प्रयोग गरियो । देख्ने यी आँखा साक्षी छन् । बयान दिनु परे यो शरिर जीवित छ ।
हामीले यो पनि अनुभव गर्न पायौं कि महानगर र जनस्वास्थ्यको समन्वय कत्ति पनि छैन । कर्मचारी साथीहरु भन्दै हुनुहुन्थ्यो स्वाव लिने काम महानगरको हो, परीक्षण गर्ने काम जनस्वास्थ्यको हो । यो प्रवचनले हामी स्पष्ट भयौं कि जनता र नागरिकको स्वास्थ्यमा सरकारको कुनै ईच्छा शक्ति छैन र संवेदनशीलता पनि छैन । उता कलेक्सन गरिएको स्वाब संकलन गर्दैगर्दा कसकोमा कसको मिसिन्छ, भन्नै नसकिने अवस्था देखियो । किनकि स्वाब लिने कर्मचारी मित्रहरु जिम्मेवार बोध होइन, बाध्यतामा आएजस्तो उहाँहरुको बोलाई र काम गराईले झल्किन्थ्यो । सरकार यसरि किन उर्दी जारी गर्दै संक्रमण नियन्त्रण गर्ने बहानामा अपराध गर्दैछौ हँ ? किन संक्रमण फैलाउदै छौ ? मलाई प्रश्न नै प्रश्न गर्ने मन छ । म सचेत र देशभक्त नागरिक हुँ, मलाई सह्य भएन सरकार ! गर्छौ भने ब्यबस्थित र वैज्ञानिक ढंगले स्वाब संकलन र उपचार गर होइन भने जनताको रगत पसिनाको कर माटोमा नमिलाउ ।
माथिका परिदृश्यसँगै ५ घण्टाको पट्यारलाग्दो लाईन सकिदै गयो । हामी हाजिर गरेर प्रतीक्षाको लाईनमा बसेका थियौं, तर न हाम्रो नाम आयो, न हामीलाई पिसीआरका लागि बोलाईयो, बरु हामी त लाईन बाटै हराएछौं । हामीले हाजिर गरेपनि किटमा त हाम्रो नाम लेखिएर्क रहेनछ । यसरी दुई सयको हाराहारीमा भएको जनतालाई ब्यबस्थित गराउन नसक्ने महानगर र प्रदेश सरकारले हजारौं र लाखौंको संख्यामा रहेको जनतालाई कसरी ब्यबस्थापन गर्न सक्छ ? कसरी शान्ति र अमनचयन प्रत्याभूत दिलाउन सक्छ ? कसरी सुव्यबस्था र सुशासन कायम गर्न सक्छ ? अनि सुखी र समृद्ध नेपालको महत्वकांक्षी संकल्प पूरा गर्न सक्छ ?
नगर प्रमुख र मुख्यमन्त्रीज्यू, संघीय सरकारलाई त हामीले हार्दिक श्रद्धाञ्जली दिई सक्यौं । तपाईहरुको पनि पालो आई सक्यो कि क्या हो ? हामी श्रद्धाञ्जली र समवेदना लेखौ कि नलेखौं ? तपाईंहरु जनताको सरकार हो भने सुनिदिनोस जनताको आवाज, बुझिदिनुस् जनताको पिरमर्का । आज किन आउँदैछ सरकार सरकारी अस्पतालहरुबाट सेवा शुल्कको फेहरिस्त ? मुख्यमन्त्रीज्यू किन काटिदै र बाझिदै छ तपाईंको उद्घघोष ? आवाजको ध्वनि मथ्थर हुन नपाउँदै ?
सुरज श्रेष्ठ भाइ हामी उभिदै गर्दा लाईनमा हराईएको मान्छे । हाम्रो स्वाब लाईनमा होला ? हाम्रो स्वाब सुरक्षित होला ? के हाम्रो स्वाबको नतिजा हाम्रै नामको रिपोर्टमा आउला ? हामी सिंगो मान्छेलाई हराईएर लाईन बस्न लगाउने फोने कर्मचारीले के हाम्रो तथ्यांङक सहि राखेको होला ? बासी राख्ने स्वाबको नतिजा परिणाममुखी र विश्वसनीय आउला ? मलाई पट्टकै बिश्वास छैन, भाईलाई र अन्य साथीरुलाई के कस्तो लाग्दै छ ? थप्दै जानुहोला…..। अब हामी सचेत नागरिकहरुले कर बहिस्कार गर्नुको विकल्प छैन । हाम्रो करको धनले मन ठूलो गराएर गोहीले जस्तै श्वास फेर्ने सरकारलाई अक्सिजन नपाएर छटपटिएर मृत्यवरण गर्ने साथीहरुलाई जस्तै मृत्यू नजिक पु¥याउँ, अनि थाहा पाउनेछ, सरकारले, सरकारको अक्सिजन वृक्ष कुन हो भनेर । तथास्तु ।
संक्रमितको आँखाबाट..
मीन गुरुङ
पोखरा–१०, अमरसिंहचोक
९८५६०३२६७६
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१७ वैशाख । अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदन…






