भारतीय सहयोगमा निर्माण भएको विद्यालय भवन उद्घाटन


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०७७ मा प्रकाशित




नेपाल–भारतमैत्री विकास सहयोगअन्तर्गत यहाँको देवचुलीमा निर्माण गरिएको ३४ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । नवलपरासी बर्दघाट–सुस्तापूर्वको देवचुली नगरपालिका–७ रामबासस्थित भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा निर्माण गरिएको ३४ कोठे ‘नेपाल–भारतमैत्री’ भवनको सोमबार उद्घाटन गरिएको हो ।

रु दुई करोड ५८ लाख ३० हजार लागतमा निर्माण गरिएको नेपाल–भारतमैत्री भवन निर्माणका लागि विसं २०६९ पुसमा सम्झौता भएर २०७० असारमा शिलान्यास गरिएको थियो । भारतीय सहयोगमा निर्माण गरिएको तीन तले भवनमा १६ वटा कक्षा कोठा, प्रयोगशाला, प्रशासन, बैठक कोठा, चमेनागृह तथा मेडिकल कक्षसमेतका कोठा निर्माण गरिएका छन् । गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहासहित जनप्रतिनिधि तथा भिडियो कन्फ्रेन्समा जोडिएका भारतीय राजदूतावासका काउन्सिलर डा प्रफुल्लतचन्द्र शर्माले संयुक्तरुपमा विद्यालय भवनको उद्घाटन गरेका हुन ।

विद्यालय भवन उद्घाटनका क्रममा काउन्सिलर शर्माले विद्यालयको भौतिक पूर्वाधार थपिँदै जाँदा सार्वजनिक विद्यालयमा शिक्षाको भौतिक पूर्वाधार सुधारको लागि नेपाल सरकारको प्रयासलाई सार्थक बनाउने बताए। कक्षा १२ सम्म अध्ययन हुने सो विद्यालयमा ५५ प्रतिशतभन्दा बढी छात्रा अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक नरदेव न्यौपानेले बताए । नयाँ भवन उद्घाटन भएसँगै सूचना र प्रविधिको माध्यमबाट पढाइ गराउन सहज हुने भन्दै विद्यालयको शिक्षालाई ‘डिजिटलाइज’ गरिने न्यौपानेले बताए ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।