कोरोनाको कहर , उपचारमा सकस

- आफ्नो उपचार आफै गर भन्नु गैर जिम्मेवार अभिव्यक्ति-नागरिक समाज


     जमुना बर्षा शर्मा,पोखरा    
     कार्तिक २२ गते २०७७ मा प्रकाशित





विश्व महामारीको रुपमा फैलिएको कोरानालाई २४ दिनमा परास्त गरे पछि मुटुरोगी पोखराका फोटो पत्रकार राम गुरुङले दोस्रो जीवन पाएको अनुभुति गर्नुभयो । गुरुङले सुन्नु भएको थियो “कोरोना संक्रमण ज्येष्ठ नागरिक र दीर्घरोगीहरुमा छिटो सर्छ र निको हुन गाह्रो हुन्छ ।” आफुले १४ वर्ष अघि मुटुको भल्भ फेरकाले पनि उहाँ कोरोनाबाट जोगिन हरदम प्रयासरत हुनुहुन्थ्यो । जोगिँदा जोगिदै पनि उहाँ संक्रमित हुन पुग्नुभयो । (कन्ट्रयाक्ट ट्रेसिङमा) पछि उहाँमा केही लक्षण देखियो र स्वाब परीक्षण गराउँदा पोजेटिभ आयो । “एकछिन संसार नै अन्धकार देखें ।” गुरुङले भन्नुभयो “अघिपछि कति उकालो ओरालो गर्दै अन्नपूर्ण बेसक्याम्पसम्म पुगेको थिएँ, सगरमाथा म्याराथनमा भाग लिएको थिएँ, थोराङ पास पनि गरेको थिएँ तर कोरोना पोजेटिभ आउँदा भने शुरुमा केही डर लाग्यो” उहाँले आत्मबल कमजोर हुनबाट रोकेर विगतलाई स्मरण गर्नुभयो । “कति कठिन अवस्था त आत्मबललाई दह्रो बनाएर जितेको छु भने कोरोना पनि जित्छु भनेर लागि परे योग साधना सहित आहार विहारमा ध्यान दिएर कोरोना पराास्त गर्ने अभ्यासमा जुटे, २४ दिनमा जितेरै छोडे ” गुरुङ भन्नुहुन्छ “विभिन्न ठाउँहरु घुम्ने डुल्ने रमाउने पेशासँग जोडिएको भएर हाला लामा ेसमय आइशोलेशनमा बस्दा भने निकै गाह्रो हुने रहेछ ।” कोरोना सन्चो भइहाल्ने रहेछ भन्दै लापवाही नगर्न उहाँको आग्रह छ । “हो, म दीर्घरोगी हुँ, कोरोना जित,े तर मैले कोरोना जित्ने ठूलै अभ्यास गर्नुपर्यो जुन सहज मात्रै छैन निकै जटिल पनि छ । जिन्दगीको माया गरेर स्वास्थ्य सतर्कता अपनाउनुस्”
करिब १५ दिनको अस्पताल बसाइ पछि कोरोना जित्न सफल पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवं पर्यटन व्यवसायी सोम थापाले कोरोना रोकथाम र न्यूनिकरणमा सरकारसँगै नागरिकको पनि उत्तिकै दायित्व हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “कोरोना अदृश्य भाइरस हो, जसलाई जतिबेला पनि लाग्न सक्छ तर हाम्रो चेतना स्तर निकै निरीह छ । बाटोमा तगारो राखेर संक्रमण रोकिन्छ भन्ने चेतना स्तर भएकाहरुबाट अरु के अपेक्षा गर्न सक्छौ हामी ” थापाले संक्रमित प्रति सकारात्मक दृष्टिकोण राख्न नसक्दा र नकारात्मक प्रभाव बढ्दै जाँदा कोरोनाले भयावह रुप लिँदै गएको बताउनुहुन्छ ।
संक्रमण पश्चात पोखराको निजी अस्पतालमा आफूले १५ दिनमा करिब साढे चारलाख उपचारका लागि खर्च गरेर कोरोना जितेको अनुभव सुनाउँदै थापा भन्नुहुन्छ “नलाग्दा केही होइन जस्तो हुन्छ लागे पछिका तनाव भनिसाध्य छैन, स्वास्थ्य उपचारको पहुँच भएन भने कोरोनाले जटिल रुप लिन्छ र मृत्युको मुखमा पुर्याउँछ” उहाँले रोग लागेपछि पनि सहज उपचार नहुने भन्दै रोग लाग्न दिनबाट जोगिनु नै सबैभन्दा उत्तम उपाय भएको बताउनुभयो ।
गण्डकीमा कोरोना संक्रमित र रोकथामको अभ्यास
सन् २०१९ को अन्त्य तिर देखिएको कोरोना भाइरस कोभिड १९ सन् २०२० को नोबेम्बरमा समेत प्रभावकारी खोपको बनेर नागरिकको पहुँचमा आउन सकेको छैन । विश्व महामारीले उग्र रुप लिइरहेको यो अवस्थामा १२ लाख बढीको मृत्यु भइसकेको छ । नेपालमा पनि कोरोना भुसको आगो जस्तै भित्र भित्र सल्किदो यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा नै सरकारमा अन्योलमा देखिएको छ । गण्डकी प्रदेशमा पनि पछिल्लो समय कोभिड– १९ को विरामीहरु दिनप्रति दिन बढेका छन् । मृत्यु हुनेको संख्याले पनि रेकर्ड ब्रेक गर्दै गइरहेको छ । संक्रमित विरामीलाई राख्ने बेडको अभाव र महँगो उपचार पद्धतिले संक्रमितहरु उपचार विनानै मरिने पो हो कि भन्ने त्रासमा देखिन्छन् । केही निजी अस्पतालहरुले धरौटी विना उपचार गर्न नसकिने भन्दै ठाडो जवाफ दिँदा कतिपय संक्रमितलाई मानसिक रुपमै विक्षिप्त बनाएको छ ।


गण्डकी प्रदेशको कोरोना संक्रमणको ग्राफ हेर्ने हो भने सबै भन्दा बढी संक्रमित कास्कीमा रहेका छन् ४२.९६ प्रतिशत देखिन्छ । त्यसपछि नवलपरासीको पूर्व, तनहुँ, बागलुङ गोर्खा स्याङ्जा, पर्वत, लमजङु म्याग्दी रहेका छन् भने मनाङ मुस्ताङमा खतरा बाहिर छ ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरस गण्डकी प्रदेशमा पहिलो पल्ट बागलुङमा चैत १८ गते देखिएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार त्यस यता ८,७३९ जनामा सङ्क्रमण देखिएको छ भने १०० जनाले ज्यान गुमाइसकेका छन् । निको हुनेको संख्या ४,८३५ छ ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमख डा . रामबहादु केसीका अनुसार कोभिड –१९ रोकथाम कोषको ३४ करोड ७० लाख ६१ हजार दुइ सय ६७ रुपैयाबाट हालसम्म २५ करोड २६ लाख २३ हजार तीन सय ३६ खर्च भइसकेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीको ११ जिल्लामा १८५ वटा आइसियू रहेका छन् भने ५४ वटा भेन्टिलेटर रहेका छन् । प्रदेशका केही जिल्लामा उपकरण सञ्चालनका लागि दक्ष जनशक्तिको अभावले समस्या सृजना भएको उहाँको भनाइ छ । डा. केसीले कोरोना संक्रमित उपचारमा खटिएका स्वास्थ्यकर्मी एवम चिकित्सकलाई ५ करोड २७ लाख ७३ हजार र ४७ वटा गाउँपालिका र नगरपालिकाका क्वारेन्टिन व्यवस्थापनको लागि पनि एक करोड ५३ लाख रुपैयाँ दिएको जानकारी दिनुभयो ।
महामारी बढ्दै जाँदा पोखरा महानगरले १ सय ४ शैयामा अक्सिजन पाइप जडानको शुरुआत गरेको छ । जटिल समस्या भएकाहरुको सहज उपचारका लागि महानगरले पूर्वाधार र कर्मचारी व्यवस्थापनको लागि १९ लाख बजेट छुटटाएर काम अगाडि बढाएको महानगरमा उपप्रमुख मञ्जु गुरुङले जानकारी दिनुभयो । “हामीले तत्कालको विषम अवस्थालाई ध्यान दिएर १ सय ४ शैयाको लागि अक्सिजन पाइप जडान गरेर सङ्क्रमितको उपचारको लागि प्रयास थालेका हौं ।” उहाँले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७० शैया र लेखनाथमा रहेको संक्रामक रोग अस्पतालमा ३४ शैयाको लागि अक्सिजन पाइप जडान काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार १० लाख अक्सिजन पाइप र ९ लाख दक्ष जनशक्ति व्यवस्थपनको लागि भनेर बजेट विनियोजन गरिएको छ । कोरोना महामारीको सुरुआतमा महानगरले रोकथामका लागि क्वारेन्टाइन व्यवस्थापन देखि अन्य उपाय अपनाए पनि पछिल्लो समय संक्रमण तिव्र रुपमा फैलदै जाँदा रोकथामका प्रयास निकै चुनौती देखिएको उहाँको भनाई छ ।
महानगको तथ्यांक अनुसार गण्डकी मेडिकल कलेजमा १ सय ७१ बेड र मणिपाल शिक्षण अस्पतालले १ सय, चरकले ३० र फिस्टेल अस्पतालले ९ बेड कोरोना संक्रमितको लागि छुटाएको छ । निजी अस्पतालमा पनि उपचारका लागि बेड पाउनै गाह्रो र पाए पनि चर्को रकम र धरौटी माग गर्ने गरेको गुनासो सर्वसाधारण विरामीको छ ।

के भन्छन् नागरिक ?
नागरिक समाजका अगुवा रामबहादुर पौडेलले अहिलेको विषम परिस्थितीमा सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर जनता बचाउन तर्फ लाग्नु पर्ने बताउनुहुन्छ । “स्वास्थ्य सेवा ऐन, २०७५ ले सङ्क्रामक र आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने ब्यवस्था गरे पनि नागरिकको पहुँचमा यो सहजता देखिएको छैन ।” पौडेल भन्नुहुन्छ “महामारीमा नागरिक बचाउनु राज्यको दायित्व हो, तर राज्य ‘जब आफ्नो उपचार आफै गर, आफ्नो परीक्षण आफै गर’ भन्दै गैह्रजिम्मेवार अभिव्यक्ति दिन थाल्यो नागरिकमा झन् अन्योलता र लापरवाही बढ्यो ।” उहाँले सरकारीमा विरामीको चाप बढ्दै जाने र बेडको अभाव हुने अनि निजी अस्पतालहरुले १ देखि डेढ लाखसम्म धरौटी र दैनिक २५ हजार बढी उपचार शुल्क लिने गरेको कुरा बाहिर आउँदा सक्रमितलाई थप पीडा थपिएको बताउनु भयो ।
पौडेलले महामारी नियन्त्रणमा राज्यसँगै नागरिक स्वयम् को पनि दायित्व हुने भएकाले स्वास्थ्य सकर्तमा ध्यान दिएर महामारीबाट जोगिनु पर्ने उहाँको आग्रह छ ।
साहित्यकार सरुभक्त श्रेष्ठले राज्यको अदुरदर्शिताका कारण नेपालमा कोरोना संक्रमणले भयावह स्थिती सृजना गरेको बताउनुहुन्छ । “राज्य अहिलेको कोभिड १९ को महामारी आउन सक्छ, भनेर समयमै आन्तरिक तयारी गरेको भए यो अवस्था धेरै कम हुन्थ्यो अब विष्फोटको अवस्थामा पुग्न लाग्यो । लकडाउनको समयमा उपचारका लागि आवश्यक उपकरण संयन्त्रहरु तयार गर्न सकेको भए आज नागरिक सरकार विरुद्ध नारा लगाउने अवस्था आउँदैन थियो ।” उहाँले समय धेरै ढिला भइसके पनि अझै युद्धस्तरमा काम गर्न सके थप संक्रमणको अवस्थाबाट नागरिकलाई जोगाउन सकिने बताउनुहुन्छ ।
उहाँले भन्नुहुन्छ “जति जति भारतमा संक्रमणको संख्या बढ्दै जान्छ त्यसको प्रभाव नेपालमा पनि पर्दै जान्छ, त्यसतर्फ सरकारले विशेष ख्याल राखेर नियन्त्रणको अभ्यास गर्नुपर्छ ।” उहाँले राज्यसँगै नागरिक पनि सचेत भएर कोरोना विरुद्धको अभियानमा सामुहिक प्रतिवद्धता सहित जुट्न सके कम हुने उहाँको विश्वास छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार निशुल्क
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यले संक्रमितको उपचार निशुल्क गरेको जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईवटा भेन्टिलेटर र ८ वटा आइसियु वेड छन् । हाल ४० जना जति संक्रमित छन् । “प्रारम्भिक दिनहरुमा ग्रिन जोन भन्दै ढुक्क हुँदा र अहिले रेड जोनमा आउँदा चुनौति थपिएको छ । निजीले चर्को शुल्क लिन्छन्, हामीले निशुल्क उपचार गरेका छौ, यसले गर्दा पनि अस्पतालमा विरामीको चाप अत्याधिक बढेको छ ” डा. आचार्यले भन्नुभयो । अहिले दैनिक आठदेखि १० जनासम्म जटिल समस्या भएका संक्रमितहरु अस्पताल आउने गरेको र सिमित पूर्वाधार स्रोत साधनले धेरै सेवा प्रवाह गर्न कठिन भएको उहाँको भनाइ छ । “करिब २ सय जना स्वास्थ्यकर्मी चिकित्सकले रोटेशन गर्दै संक्रमितको उपचारमा खटिने गरेका छन्, सेवामा खटिएका ३० जना स्वास्थ्यकर्मि एवम चिकित्समा कोरोना पोजेटिभ देखिएको छ ।” उहाँले सिमित स्रोत साधन र दक्षजशक्तिले असिमित विरामीको चाप धान्न निकै धौ धौ भएकाले अब अस्पतालको संख्या बढाएर उपचार सहजता मिलाउनु पर्ने बताउनु भयो । जिल्ला जिल्ला, गाउँपालिकाहरुमा संक्रमितको अवस्था हेरेर अक्सिजनको व्यवस्था सहित उपचार प्रबन्ध मिलाउन सके सक्रमितको चाप कम हुने उहाँको विश्वास छ । उहाँले प्रदेशबाट स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना लक्षित पूर्वाधारमा आवश्यक उपकरण खरीदका लागि गत वर्ष करिब ६० लाख जति रकम आएपनि यो आर्थिक वर्षमा भने कुनै रकम नआएको पनि जानकारी दिनुभयो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।