अमेरिकामा पहिलो अस्वेत महिला उपराष्ट्रपति कमला ह्यारिस


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०७७ मा प्रकाशित




अमेरिकी उपराष्ट्रपति पदमा कमला ह्यारिस निर्वाचित भएकी छन्।

नेपाली समयअनुसार शनिबार अबेर राति आएको नतिजाअनुसार कमला विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको पहिलो महिला अश्वेत उपराष्ट्रपतिमा चुनिएकी हुन्।

उनी उपराष्ट्रपतिमा निर्वाचित हुनु निकै धेरै अर्थमा ऐतिहासिक बनेको छ।

कमला, पहिलो महिला उपराष्ट्रपति हुन्, पहिले अश्वेत उपराष्ट्रपति हुन् र पहिलो दक्षिण एशियाली मूलकी उपराष्ट्रपति पनि हुन्।

अमेरिकी राजनीतिक इतिहासमा कमला शीर्ष स्थानमा पुग्नु भनेको महिलाका लागि पनि ठूलो उपलब्धिका रुपमा लिइएको छ।

क्यालिफोर्नियाकी सिनेटर कमलाले उपराष्ट्रपतिमा निर्वाचन जित्नुलाई अमेरिकी इतिहासमा ठूलो उपलब्धिका रुपमा पनि लिइएको छ।

हार्वड विश्वविद्यालयमा पढेकी कमला सन् १९६४ मा अमेरिकाको क्यालिफोर्नियामा जन्मिएकी थिइन्।

कमलाले सन् २०१७ देखि सिनेटरको रूपमा क्यालिफोर्नियाको नेतृत्व गर्दै आएकी थिइन्। उनी जमैकन र भारतीय आप्रवासीकी सन्तान हुन्। ह्यारिस अमेरिकी इतिहासमा प्रथम इन्डियन-अमेरिकी र दोस्रो अश्वेत महिला सिनेटरसमेत हुन्।

उनकी आमा श्यामला गोपालन ह्यारिस भारतमा जन्मिएकी हुन्। उनको अमेरिकामा सन् २००९ मा क्यान्सरका कारण निधन भएको थियो। श्यामला खासमा क्यान्सर रोगबारे अध्ययन गर्ने विश्वका चर्चित व्यक्तिमध्ये एक हुन्।

कमलाका बाबु चाहिँ जमैकाका अर्थशास्त्रका प्रोफेसर हुन्। उनी पनि अमेरिकामा बसोबास गर्न थालेको लामो समय भएको थियो। कमलाका बाबुको नाम हो, डोनाल्ड।

कमलाका बाबु डोनाल्ड र श्यामलाले सन् १९७२ मा नै सम्बन्धविच्छेद गरेका थिए।

एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।