पोखरा, २४ कात्तिक
पोखरामा विभिन्न संघ संस्थामा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका व्यवस्थापकहरुले कोेभिड –१९ का कारण स्रोत साधन व्यवस्थापन लगायत विविध कुरामा समस्या झेल्नु परेको बताएका छन् ।
कोपिला नेपालद्वारा कोभिड– १९ले संस्थाका म्यानेजरहरुको काममा ल्याएका चुनौतीहरुका विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सिमित स्रोत साधनबाट कर्मचारीको सेवा सुविधा, सुरक्षादेखि थुप्रै कुराको व्यवस्थापन अहिलेको समयमा निकै चुनौती भएको बताएका हुन् ।
विकास नेपालका अध्यक्ष बुद्धिबहादुर थापाले संस्थाका पूर्व निर्धारित सबै कार्यक्रमको ढाँचानै बदल्नु पर्नेदेखि कर्मचारी व्यवस्थापनको समस्या रहेको धारणा राख्नुभयो । उहाँले केही कर्मचारी घरबाटै काम गरेको भएपनि कार्यक्षेत्रमै पुगेर काम गर्ने कर्मचारीलाई भने स्वास्थ्य सुरक्षाका लगायतका कारणले व्यवस्थापन गर्न निकै कठिन भएको बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका उपनिर्देशक नितु गर्तौलाले अहिलेको अवस्थामा आफू सुरक्षित रहेर प्राप्त जिम्मेवारीलाई पूरा गर्न निकै चुनौती रहेको धारणा राख्नुभयो । कार्यक्रममा नजाँदा पनि नहुने जाँदा सङ्क्रमण भइहाले त्यसको जिम्मेवार पनि आफै हुनुपर्ने कतिपय अवस्थाले मानसिक रुपमा बोझिलो बनाएको उहाँको भनाइ छ ।
इन्सेक गण्डकीका संयोजक शिव खकुरेल जिम्मेवारी वहन गर्दा सङ्क्रमणको जोखिमले मानसिक रुपमै असर पारेको धारणा राख्नुभयो । प्रदेशका ११ जिल्लाका प्रतिनिधिको स्वास्थ्य सुरक्षा देखि अन्य कुराको व्यवस्थापन अहिले निकै चुनौती रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा एकद्धार संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन कविता पौडेलले सिमित स्रोत साधन र चुनौती लिएर कोभिड –१९ र अन्य विरामीको उपचारमा निरन्तर खट्नु पर्दा आफ्नो कारण परिवारका सदस्य पनि जोखिमको घेरा भित्र रहेको अनुभव सुनाउनु भयो । राइट फर चिल्ड्रेनका रमेश खड्काले संस्थाका गतिविधिहरु सञ्चालन गर्न नपाउँदा र दातृ निकायबाट बजेट समेत नआँउदा पठन पाठनदेखि कर्मचारीलाई जागिरमा राख्नेकी नराख्ने भन्ने समस्या रहेको बताउनुभयो ।
कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवालले कोभिड –१९ को समयमा सडकबाट विक्षिप्त अवस्थाका महिला उद्धार गर्नु पर्दा सङ्क्रमणो जोखिम र व्यवस्थापनको समस्या रहेको बताउनुभयो । व्यवस्थापकीय जिम्मेवारीमा रहेकाले अरुको कुरा सुन्नुपर्ने तर आफ्नो कुरा सुनाउने ठाउँ नहुँदा अहिलेको सममा झन समस्या भएको उहाँको अनुभव थियो ।
कार्यक्रममा आमा मिलन केन्द्रकी अध्यक्ष इन्दिरा पौडेल, महिला मानव अधिकार रक्षक सञ्जालका कास्कीका अध्यक्ष तारामाया थापा, दलित महिला संघ कास्कीका अध्यक्ष सुमित्रा गर्तौला, अधिवक्ता जानकी शर्मा लगायतले आआफ्नो क्षेत्रमा भोग्नु परेका समस्याका बारेमा अनुभव राख्नभएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।