राष्ट्रपति भण्डारीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी कामको विवरणबारे जानकारी लिइन्

- ‘अहिलेको अवस्थामा बालबालिका, वृद्धवृद्धा र शारीरिक अशक्तता भएका नागरिकको विशेष ख्याल गर्नुहोस’


     एभरेस्ट आवाज    
     कार्तिक २६ गते २०७७ मा प्रकाशित




तस्वीर : फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले भएको पूर्वाधार र जनशक्तिको भरपूर प्रयोग गर्दै अमूल्य मानव जीवनको रक्षा गर्नु आजको पहिलो आवश्यकता भएको बताएकी छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी गरेका कामको विवरणबारे मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा जानकारी लिँदै राष्ट्रपति भण्डारीले अहिलेको पहिलो काम जीवन जोगाउनु भएकामा जोड दिइन्।

राष्ट्रपति भण्डारीले आफूलाई जोखिममा राखेर पनि कोभिड नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्यकर्मीले गरिरहेको प्रयासको प्रशंसा गरिन्।

उनले भनिन्, ‘अहिलेका अवस्थामा बालबालिका, वृद्धवृद्धा र शारीरिक अशक्तता भएका नागरिकको विशेष ख्याल गर्नुहोस।

बढीभन्दा बढी सेवा प्रवाह गर्न र विज्ञको सल्लाहसुझाव लिई अघि बढ्न उनले सरकारलाई सल्लाह दिइन्। पूर्वाधार निर्माण र जनशक्ति अभाव पूर्ति गर्न ध्यान दिन तथा महामारी अझै बढे के गर्ने भन्नेबारे तयारी थाल्न सरकारलाई भण्डारीको सुझाव थियो।

उनले गरीबीको चेपुवामा परेका नागरिकको समस्यातर्फ ध्यान दिन आग्रह गरिन्। उनले अहिलेको महामारीका बेला स्थानीय तहलाई झन् सक्रिय गराउन आवश्यक रहेकामा जोड दिइन्।

राष्ट्रपति भण्डारीले कोभिडको महामारीबाट पाठ सिकी अब सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै लैजानुपर्ने बताइन्। न्यूनआय भएका, अप्ठ्यारामा परेका तथा गरीबीको दुश्चक्रमा परेकाहरुको समस्याप्रति सबैको ध्यानाकर्षण गराइन्। उनले सामाजिक जनजीवन सहज तुल्याउन तथा राज्यका सम्पूर्ण अंगसहित स्थानीय तहलाई साथमा लिई काम गर्न केन्द्रीय सरकारलाई सुझाव दिइन्।

शय्या पर्याप्त छ : स्वास्थ्यमन्त्री

सो अवसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिडको खोप प्रयोगमा आए नेपाली नागरिक त्यसबाट वञ्चित हुन नपर्ने गरी सरकारले कामकारवाही अघि बढाएको जानकारी दिए । अस्पतालमा शय्या पर्याप्त भएको जनाउँदै मन्त्री ढकालले कोभिडबाट संक्रमितले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारे।

काठमाडौँ उपत्यकाका विभिन्न सरकारी अस्पतालका निर्देशक तथा पदाधिकारीले कोभिड महामारीका समयमा आआफ्नो अस्पतालले गरेका काम तथा आगामी योजनाबारे राष्ट्रपतिसमक्ष अवगत गराएका थिए।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।