बेलायतले दियो कोरोनाविरुद्धको खोप प्रयोगका लागि स्वीकृति


     एभरेस्ट आवाज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित




मंसिर १७ एजेन्सी । बेलायतले सर्वासाधरणको लागि अमेरिकी कम्पनी फाइजर र जर्मन बायोएनटेक कम्पनीले संयुक्तरुपमा बनाएको कोरोनाविरुद्धको खोप प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।

बेलायत सर्वसाधरणको प्रयोगका लागि कोरोनाविरुद्धको खोप स्वीकृत प्रदान गर्ने विश्वमा नै पहिलो देश बनेको छ ।

खोप कार्यक्रमका लागि लगभग ५० अस्पताल तयारी अवस्थामा राखिएको र अन्य खोप केन्द्रहरू तयार गर्न थालिएको बेलायतको नियामक निकाय ‘एमएचआरए’ले जनाएको छ ।

खोपको लागि जोखिम समूहमा रहेका व्यक्तिहरुलाई पहिलो प्राथमितामा राखिएको अर्को हप्ताबाट सर्वसाधारणलाई खोप लगाउन सुरु गरिने जनाइएको छ ।

विज्ञहरूले खोप सुरु भएपछि पनि मानिसहरू सतर्क हुनुपर्ने र स्वास्थ्य सावधानीहरू अपनाउनुपर्ने बताएका छन् ।

बेलायतले यसअघि नै फाइजरको खोपको चार करोड ‘डोज’को ‘अर्डर’ गरिसकेको छ । यसबाट दुई करोड मानिसलाई खोप दिन सकिनेछ । तीन हप्ताको अन्तरालमा उक्त खोपको दुई मात्रा आवश्यक पर्दछ ।

अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परीक्षणमा उक्त खोपको दोस्रो मात्रा दिइएको सात दिनपछि खोप दिइएकाहरूमध्ये ९० प्रतिशतलाई संक्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो ।

फाइजरले यस वर्षको अन्त्यसम्ममा पाँच करोड मात्रा खोप आपूर्ति गर्नसक्ने जनाएको छ । सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड मात्रा आपूर्ति गर्नसक्ने कम्पनीको दाबी छ ।

खोपको इतिहासमा यो सबैभन्दा छिटो स्वीकृति पाउने खोप बनेको छ ।

महामारी सुरु भएको १० महिनाको अवधिमा यो खोप योजनाबाट अनुमतिसम्म आइपुगेको हो । कतिपय खोपका लागि एक दशकभन्दा लामो समय लागेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।