पर्यटन पुर्नउत्थानको लागि भ्रमणमा निस्किएको नाट्टा टोली फर्कियो


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०७७ मा प्रकाशित




कोभिड– १९ ले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यका साथ निस्किएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेण्ड (नाट्टा )गण्डकी प्रदेशकोको टोली चार दिने भ्रमणपछि पोखरा फर्किएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा निस्किएको टोलीले गोर्खा र तनहुँका पर्यटकीय गन्तब्यको अवलोकन सहित स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालासँग अन्तरक्रिया गरेर आन्तरिक पर्यटन प्रवद्र्धनको लागि सहकार्य र समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेको संस्थाका महासचिव कमला गिरीले जानकारी दिनुभयो ।


उहाँका अनुसार भ्रमणको पहिलो दिन गोर्खाको प्रसिद्ध मनकामना मन्दिर, सिद्ध गुफा, बक्रेश्वरी, सहिद लखन पार्क, अवलोकन गरी सहिद लखन थापा गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय सरोकारवालासँग अन्तक्रिया गरेको थियो । गाँउपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले उक्त क्षेत्रका पर्यटकीय स्थलको जानकारी दिदै कोभिड– १९का बीच पर्यटन प्रवद्र्धनको अभियानमा जुट्न सकारात्मक भएको बताउनुभयो । उक्त टोलीले गोर्खामा रहेका गोखरकाली, मन्दिर र आसपासका गन्तब्यको दृश्यवलोकन गरी गोर्खा नगरपालिकाका प्रमुख राजनराज पन्तसँग पोखरा र गोर्खाको पर्यटन प्रवद्र्धनमा कसरी साझेदारी गर्ने भन्ने विषयमा छलफल गरेको थियो । गोर्खाको सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टलाई भूकम्पको इपिसेन्टरको विषयमा देखिएको अन्योलताको विषयमा व्यवसायीहरुले जिज्ञासा राखेका थिए । एकै क्षेत्रका धार्र्चे गाउँपालिका र सुलिकोट गाउँपालिकाले भूकम्पको इपिसेन्टरको दाबी गर्नु भन्दा सत्य तथ्य बाहिर ल्याएर पर्यटकीय गन्तब्यको विकासका लागि साझा धारणा सहित अघि बढ्न नाट्टाले सुझाव दिएको थियो । टोलीले गैह आवासीय नेपाली संघले भुकम्प पिडितका लागि धार्चे गाउँपालिका वडा नं ४ लाप्राकमा निर्माण गरेको नमुना वस्ती पुगेर आसपासका हिमश्रृंखला र पदमार्गको बारेमा जानकारी लिएको थियो ।
स्थानीय पर्यटन व्यवसायी रामकुमार गुरुङ र राजकुमार गुरुङले त्यस क्षेत्रका प्रमुख गन्तब्यको बारेमा तयार गरिएको वृत्तचित्र देखाएर पर्यटन प्रवद्र्धनमा सँगसँगै हातेमालो गर्न तयार रहेको बताउनुभयो । तेस्रो दिन पालुङटार नगरपालिका प्रमखसँग भेटघाट गरी उक्त क्षेत्रका पर्यटकीय गन्तब्यको बारेमा जानकारी लिइएको थियो । नगर प्रमुख ई. दिपकबाबु कँडेलले अमेरिकामा भन्दा पहिलो प्रजातन्त्रको अभ्यास भएको जिल्ला भएको उल्लेख गर्दै धार्मिक ऐतिहासिक र सांस्कृतिक सँगै प्राकृतिक रुपमा त्यस क्षेत्रमा भएका पर्यटकीय गन्तब्यको जानकारी दिनुभएको थियो । नाट्टाको टोलीले लिगलिगकोटको दृश्यवलोकन सहित त्यसको ऐतिहासिक पृष्ठभूमिको बारेमा जानकारी लिएको थियो ।
कार्यक्रमको अन्तिम दिन बन्दिपुरको मौलिक परम्पराको जानकारी लिदै छाब्दी बाराही मन्दिरको दर्शन र पछिल्लो समय निकै चर्चामा रहेको तनहुँको मानहुँकोटको अवलोकन गरिएको थियो । सो लगत्तै ग्रामिण पर्यटनको प्रवद्र्धन सहित शुक्ला गण्डकी नगरपालिका वडा नं २ स्थित भुजिकोटमा पुगेर त्यस क्षेत्रका पर्यटकीय गन्तब्यको बारेमा जानकारी लिएको थियो । कार्यक्रममा शुक्ला गण्डकी नगरपालिका प्रवक्ता खिमबहादुर कुमाल र उक्त वडाका वडा अध्यक्ष जगत बहादुर गुरुङले सो क्षेत्रको पर्यटकीय गन्तब्य र धार्मिक महत्वका बारेमा जानकारी गराउनु भएको थियो ।
पोखरा पर्यटन परिषद अध्यक्ष गोपी भट्टराईलाई कोरोनाको त्रासबाट माथि उठेर अब स्वास्थ्य सतर्कता सहित पर्यटन चलायमान गराउन नाट्टाको कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत जयशक्ति सराफले भ्रमणले पहिचान भएका र हुँदै गरेका पर्यटकीय गन्तब्यकोे प्रवद्र्धनमा भूमिका खेलेको जनाउँदै बोर्डले पर्यटन प्रवद्र्धनमा सहयोग गर्न सधै तयार रहेको धारणा राख्नुभयो । संस्थाका अध्यक्ष सञ्जयकान्त सिग्देलले स्वास्थ सतर्कता अपनाउदै थालिएको पर्यटन पुर्नउत्थान कार्यक्रम निकै उत्साहका साथ सफल भएको बताउनुभयो । उहाँले एक जिल्लाले अर्को जिल्लाको भ्रमण गरेर त्यस क्षेत्रका गन्तब्यको बारेमा प्रचार प्रसार गर्न सके सुस्ताएको पर्यटन विस्तारै लयमा फर्किने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रमका संयोजक एवम् संस्थाका द्धितिय उपाध्यक्ष किशोर दाहालले आन्तरिक पर्यटन पुर्नउत्थान गर्ने उद्देश्य सहित छिमेकी जिल्लाको स्थलगत भ्रमण निकै फलदायी रहेको बताउनुभयो । उहाँले पोखरा पर्यटन परिषदका अध्यक्ष, नाट्टाका पूर्व अध्यक्ष, नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत, पत्रकार र संस्थाका सदस्य सहित २४ जनाको सहभागिता रहेको जानकारी दिनुभयो ।
तस्बिर उपलब्ध छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।