गण्डकी प्रदेशमा कहिले खुल्ला विद्यालय ?


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०७७ मा प्रकाशित





गण्डकी प्रदेशका आधा भन्दा बढी विद्यालयले भौतिक उपस्थितिमै पढाई सञ्चालन गर्न थालेका छन् । गण्डकी प्रदेशका ११ जिल्लाका करीब ६० प्रतिशत विद्यालयले भौतिक उपस्थितिमै पढाई सञ्चालन गरेका हुन् । बाँकी ३५ प्रतिशत विद्यालयले अनलाईन कक्षा सञ्चालन गरिरहेका छन् भने ५ प्रतिशतले पढाई सञ्चालन गर्न नसकेको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाले जनाएको छ ।

सुगम ठाउँका थोरै विद्यार्थी भएको स्कुलमा भौतिक उपस्थितिमै पढाई सञ्चालन शुरु गरेको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखा प्रमुख तेजप्रसाद काफ्लेले जानकारी दिए । त्यस्तै, धेरै विद्यार्थी भएका विद्यालयहरुले भने सिफ्ट तालिका मिलाएर विहान र दिउँसो गरेर विद्यालय सञ्चालन गर्न शुरु गरेको उनको भनाई छ । अत्यधिक धेरै विद्यार्थी भएका विद्यालयहरुले भने वैकल्पिक माध्यमबाट पढाई सञ्चालन गरिरहेको महाशाखा प्रमुख काफ्लेले बताए । सहरी क्षेत्रका अधिकांश वोर्डिङ स्कुलहरुले वैकल्पिक माध्यम अपनाएको उनको भनाई छ । ५ प्रतिशत विद्यालय भने पढाई सञ्चालन गर्ने कि नगर्ने, पढाई सञ्चालन गर्दा वैकल्पिक माध्यम अप्नाउने कि भौतिक उपस्थितिमै पढाई सञ्चालन गर्ने वा अझै केहि समय पर्ख र हेर गर्ने भन्ने विषयमा निश्कर्षमा पुगिनसकेको उनले बताए । वैकल्पिक शिक्षा निर्वाहमुखी मात्र भएकाले अब भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्नेतर्फ जोड दिईएको उनको भनाई छ ।

गण्डकी प्रदेशका कास्की, पर्वत, बागलुङ, स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, म्याग्दी, नवलपुर र मुस्ताङका अधिकांश विद्यालयले पढाई सञ्चालन शुरु गरिसकेको शिक्षा महाशाखाले जनाएको छ । मनाङका एकाधबाहेकका विद्यालय सञ्चालनमा आउन नसकेको महाशाखा प्रमुख काफ्लेले जानकारी दिए । उनका अनुसार मनाङको नासोमा फूल फ्लेजमा पढाई सञ्चालन भएको छ । तर नार्पाभूमि र चामेका आंशिक विद्यालय मात्रै सञ्चालनमा आएका छन् । उपल्लो मनाङका विद्यालय सञ्चालनमा आउन सकेका छैनन् । त्यहाँका विद्यार्थीहरु कास्कीको हेमजा र लेखनाथमा झरेका छन् भने उनीहरुलाई घुम्ती विद्यालय सञ्चालन गरेर अध्ययन÷अध्यापन गरिरहेको महाशाखा प्रमुख काफ्लेको दाबी छ ।

विद्यालय सञ्चालनका लागि प्रदेशले निर्देशन दिन नसक्ने भएकाले कहिलेदेखि पूर्ण रुपमा विद्यालय सञ्चालनमा आउँछ भने यसै भन्न नसकिने महाशाखा प्रमुख काफ्लेले बताए । प्रदेशको भूमिका भनेको सहजीकरण र समन्वय मात्र गर्ने हो,‘उनले भने,‘त्यसैले कहिलेदेखि सबै विद्यालय सञ्चालनमा आउँछ यसै भन्न सकिन्न ।’ उनका अनुसार शिक्षा सम्बन्धी सम्पूर्ण अधिकार स्थानिय तहमा भएकाले विद्यालय सञ्चालनमा पनि उनीहरुकै भूमिका हुनेछ । उनले शिक्षा विकास तथा समन्वय ईकाईहरुसँग मंसिर २३ गते भर्चुअल मिटिङ गरेर विद्यालय सञ्चालन कसरी गर्न सकिन्छ भनेर जानकारी लिएको र अब पुसको पहिलो हप्ता पुनः छलफल गरेर विस्तृत जानकारी लिईने बताए ।

महाशाखाले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) रोकथाम, नियन्त्रण र उपचारका लागि विभिन्न विद्यालयमा राखिएको आईसोलेसन र क्वारेन्टिन भने प्रदेशका सबै विद्यालयबाट हटाईसकेको जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।