बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार


     एभरेस्ट आवाज    
     असाेज २९ गते २०८३ मा प्रकाशित




बूढीगण्डकी बाढी प्रभावित क्षेत्र गोरखाबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार भएको छ ।

आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । यसमध्ये ७० जना विदेशी नागरिक रहेका उनले बताए । बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पु¥याएसँगै सो क्षेत्रमा रहेका नागरिक फसेका थिए । नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरुलाई उद्धार गरिएको शर्माले बताए। उनका अनुसार बाढी गएको पहिलो दिन आइतबार प्रभावित क्षेत्रका ९६ जनाको उद्धार भएको थियो । सोमबार ३२१ र मङ्गलबार १८६ जनाको उद्धार भएको हो । बुधबार भने ४४१ जनाको उद्धार भएको सहायक प्रजिअ शर्माको भनाइ छ ।

उद्धारसँगै राहत वितरणको काम पनि तीव्र पारिएको उल्लेख छ । सरकार र विभिन्न सङ्घसंस्थाको सहयोगमा खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार, जेनेरेटरलगायत राहत सामग्री वितरण भइरहेको सहायक प्रजिअ शर्माले बताए । बाढीले सडक सञ्जालसँगै पदमार्ग कटान गरेपछि उद्धार र राहतमा हेलिकोप्टर प्रयोग गर्नुपरेको उनले बताए । “राहत वितरण गर्नका लागि पनि हेलिकोप्टरकै प्रयोग भइरहेको छ । यताबाट उद्धार गर्न जाने हेलिकप्टरले राहतका सामग्री लाने र उताबाट आउँदा मान्छेलाई उद्धार गरेर ल्याउने गरेको छ”, उनले भने ।

यसैबीच, नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढीको प्रतिकार्यलाई तीव्रता दिएको छ रेडक्रस सोसाइटीका महामन्त्री ऋषि खनालले बाढीको क्षतिको आकलनसहित तत्काल बाढी प्रतिकार्यमा स्वयंसेवक परिचालन गरिएको र गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पु¥याउन काम भएको जानकारी दिए । उनले भने, “बाढी गएको सूचना प्राप्त गर्नासाथ गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपुर पूर्व र पश्चिमका स्वयंसेवकलाई परिचालन ग¥यौँ । उहाँहरूले पूर्वसूचना प्रवाहित गर्नुभयो । प्रतिकार्य जारी छ ।” बाढीको तत्काल प्रतिकार्यका लागि गैरखाद्य सामग्री सहित अन्य सामग्री प्रभावित क्षेत्रमा पठाउने काम भएको र यो कार्य जारी रहेको नेपाल रेडक्रसले जनाएको छ ।

महामन्त्री खनालका अनुसार हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकण र नेपाली सेनाको सहकार्य र समन्वयमा नै गैरखाद्य सामग्री त्रिपाल , म्याट्रेस, ब्ल्याङ्केट, डिग्निटी किटलगायत प्रभावित क्षेत्रमा पठाइएको छ । साथै अस्पताल सञ्चालन गर्न सकिने ठूला ÷ठूला दुईवटा टेन्ट पनि प्रभावित क्षेत्रमा पुगेको उनले जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।