कवि केबी नाम्जाली स्मृति अक्षयकोषको राशि १ लाख १ हजार पुर्याइयो


     एभरेस्ट आवाज    
     पौष ३ गते २०७७ मा प्रकाशित




कवि केबी नाम्जाली भुरुङ मगरको नाममा स्थापित “कवि केबी नाम्जाली भुरुङ मगर स्मृति अक्षयकोष”को राशि १ लाख १ हजार रुपैयाँ पुर्याइएको छ ।
मगर भाषा प्रतिष्ठान, कास्कीले सञ्चालन गर्ने अक्षयकोषमा यसअघि ६० हजार रुपैयाँ रहेको थियो । अक्षयकोषमा कवि भुरुङ परिवारले ४१ हजार रुपैयाँ थप रकम हस्तान्तरण गरेपछि अब अक्षयकोषको रकम १ लाख १ हजार रुपैयाँ भएको छ ।
अक्षयकोषको ब्याजबाट हरेक दुई÷दुई वर्षमा एक जना मगर स्रष्टालाई सम्मान गरिँदै आएको छ । अक्षयकोषको थप रकम बिहीबार आयोजित कवि नाम्जालीको ५४ औं जन्मजयन्तीका अवसरमा कविपत्नी शशी थापामगरले प्रतिष्ठानका अध्यक्ष रूद्रबहादुर हितानमगरलाई हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रीय सदस्य पूर्णबहादुर रानामगरले मगर समुदायका एक होनहार स्रष्टालाई अल्पायुमै गुमाउनुपर्दा पीडाबोध भइरहने बताए । मगर भाषा र साहित्यको विकासमा कवि नाम्जालीले पु¥याएको योगदान अतुलनीय रहेको भन्दै रानामगरले कवि नाम्जालीका अप्रकाशित कृति र रचना प्रकाशनका लागि मगर संघले सहयोग गर्ने उल्लेख गरे । मगर भाषा र साहित्यको विकासमा लागिपरेका स्रष्टाहरूलाई राज्यले बेवास्ता गर्ने गरेको जनाउँदै उनले ओझेलमा रहेका मगर स्रष्टालाई अघि ल्याउन मगर भाषा प्रतिष्ठानजस्ता संस्थाले अगुवाइ गर्नुपर्ने बताउनुभयो ।
अक्षयकोषका संरक्षक एवं कविका मामा क्या.नरेश थापामगरले कवि नाम्जाली एक क्रान्तिकारी कवि भएको बताए । कविले लेखेका ऊ बेलाका कवितांशजस्तै देश र समाजको परिस्थिति समेत अझै उस्तै रहेको बताउँदै उनले कविका हिजोका रचना आज पनि उत्तिकै सान्दर्भिक बनिरहेको भनाइ राख्नुभयो । नेपाल मगर संघ, कास्कीकी जिल्ला सदस्य पुष्पा पुनमगरले मगर समुदायको धेरै ठूलो जनसंख्या आफ्नो मातृभाषाबाट वञ्चित भएको अवस्था रहेको भन्दै मगर भाषा संरक्षणमा अहोरात्र खट्ने व्यक्ति कमै भएको उल्लेख गरे ।
मगर भाषा प्रतिष्ठान, कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगरले देश र समाज परिवर्तनको हुटहुटीपन कविमा रहेको बताउँदै कवि नाम्जालीका हरेक कविता र मुक्तकमा क्रान्तिकारीपन झल्किने उल्लेख गरे । प्रतिष्ठानका उपाध्यक्ष यामबहादुर थापामगरले कवि नाम्जाली प्रतिभाशाली कवि भएको बताउँदै जीवनको छोटो समयमा पनि मगर भाषा र साहित्यका लागि उल्लेखनीय योगदान पु¥याएको बताए । सो अवसरमा प्रतिष्ठानका सचिव रूद्रबहादुर श्रीसमगरले कवि नाम्जालीको स्मृतिमा स्मृतिग्रन्थ प्रकाशन गर्न सके कविको व्यक्तित्व र कृतित्वलाई व्यापक बनाउन सकिने धारणा राखे ।
स्याङ्जाको हरिनास गाउँपालिका–३, प्यारसिङमा जन्मिएका कवि नाम्जालीको २०६९ जेठ १२ गते ४६ वर्षको अल्पायुमै निधन भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।