मन्त्री र सांसदद्वारा ढोडवेंशी पुगेर उखु किसान संग छलफल


     एभरेस्ट आवाज    
     पौष ७ गते २०७७ मा प्रकाशित




कास्कीको पोखरा महानगरपालिका वडानं ३२ ढोडवेंशीका उखु किसान संग मन्त्री र सांसदहरुले उखु खेती र प्रशोधनको स्थलगत अवलोकन गर्दे किसान संग अन्तरक्रिया गरेकाछन । मंगलबार गण्डकी प्रदेशका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगर, कास्की क्षेत्रनं १(१)का प्रदेश सांसद दीपक कोइराला,कास्की क्षेत्रनं ३(१)का प्रदेश सांसद रामजी प्रसाद बराल (जिवन)ले कृषक र वडानं ३२का जनप्रतिनिधिहरु संग अन्तरक्रिया गरेका हुन् । अन्तरक्रियामा किसानहरुले कास्कीको एक मात्र ब्यावसायिक उखु उत्पादन हुने ढोडवेशी क्षेत्रमा सिंचाईको अभाव रहेको,उखुमा रोग देखा परेको, प्रशोधन गर्दा विजुली मु्ल्य प्रति युनिट १९ रुपैया सम्म तिर्नुपर्ने परेको गुनासो गरेका थिए ।
मन्त्री थापा मगरले उखु प्रशोधनलाई आधुनिकीकरण आवश्यक रहेकोले अर्को बर्ष मन्त्रालयले सहयोग गर्ने, उखुमा देखापरेको रोग ब्यवस्थापनको लागि प्राविधिकहरुलाई स्थलमा पठाएर रोग रोगथामको लागि काम गर्ने बताए । उनले गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई सहकारी मार्फत विक्रि वितरण गरे प्रतिलिटर साढे २ रुपैया अनुदान दिने ,किसानहरुको बाली र पशु विमा निशुल्क गर्ने नीति लिएको र अहिले कार्यान्वयनको चरणमा रहेको बताए ।
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति एवं कास्की क्षेत्रनं १(१)का सांसद दीपक कोइरालाले ढोडवेंशी क्षेत्रमा देखिएको सिंचाई समस्यालाई मध्यनजर गर्दे अहिले प्रदेशबाट योजना परेको र अहिले डिपिआरको काम अगाडि बढेको बताए । उत्पादन भएको उखुको बजार समस्या नभएकोले पनि किसानहरुलाई यहि पेशामा टिकाई राख्न किसानका समस्या समाधान गरेर अगाडि बढ्न सधै तयार रहेको बताए ।
सांसद रामजीप्रसाद बराल (जिवन)ले उत्पादनमा बृद्धिको लागि किसानहरुले गरेको मेहनतलाई राज्यको तर्फबाट सधै साथ र हौसला हुनुपर्ने बताए । वडानं ३२ का वडाध्यक्ष अक्लबहादुर कार्कीले वडानं ३२मा कृषिमा जनलहर आएको तर महानगरबाट उचित बजेटको ब्यवस्था नहुने गरेको गुनासो गरे । वडानं ३२मा प्रदेश सरकारले गण्डकी विश्व विद्यालय, जडिबुटी संकलन केन्द्र र विभिन्न विकासका योजना रहेको र कार्यान्वयनको चरणमा अगाडि बढेको बताए । उुखु किसान यज्ञप्रसाद अधिकारीले सांसद र मन्त्रीनै आफ्नो ठाउँमा पाएपछि आफुहरुले राखेको समस्या समाधान हुनेमा आशाबादी रहेको बताए । कृषि उत्पादनमा विजुली सुफत मुल्यमा हुनुपर्नेमा अस्थायी मिटर बक्स राख्नुपर्दा आफुहरु मारमा परेको उनको भनाई थियो । अहिले ढोडवेंशी रस मालेपाटन क्षेत्रमा १ सय भन्दा बढि किसानले उखु खेती गर्दे आएका छन भने एक किसानले कम्तीमा ५० हजार देखि ५ लाख भन्दा बढि उखुबाट आम्दानी लिदै आएको बताएका छन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।