महेन्द्र जनसहयोगलाई सांस्कृतिक विद्यालय बनाउने तयारी


     एभरेस्ट आवाज    
     पौष २२ गते २०७७ मा प्रकाशित



स्याङ्जा । स्याङ्जाको फेदीखोलाको एक विद्यालयलाई सांस्कृतिक विद्यालय बनाउन यति बेला तयारी थालिएको छ ।

फेदीखोला गाउँपालिका २ स्थानचौरमा अवस्थित महेन्द्र जनसहयोग आधारभुत विद्यालयले गीत, संगीत, संस्कृति, रितिरिवाज लगायतबारे अध्यापन गर्दै सांस्कृतिक विद्यालय बनाउन तयारी थालेको हो ।

विस २०१४ सालमा अनौपचारिक रुपमा शिक्षा सुभारम्भ गरेको यस विद्यालयले विस २०१८ सालमा तत्कालिन राजा महेन्द्रको स्याङ्जाको नुवाकोट भ्रमणका क्रममा ३ सय रुपैयाँ अनुदानबाट २०१८ सालमा औपचारिक अनुमति पाएको थियो । सोहि विद्यालय अहिले सांस्कृतिक विद्यालय सञ्चालनका लागि कम्मर कसेर लागेको छ । जसका लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ ।

पछिल्लो समय संस्कृति लोप हुँदै गएको छ । अझ युवा पुस्तामा त संस्कृतिप्रति खासै रुची देखिदैन । तर स्याङ्जाको फेदीखोलास्थित महेन्द्र जनसहयोग आधारभुत विद्यालय भने सांस्कृतिक विद्यालय सञ्चालन गर्ने तयारीमा छ ।

लोपोन्मुख संस्कृतिप्रति विद्यार्थीलाई औपचारिक शिक्षामार्फत जागरुक बनाउँदै यसको संरक्षणमा लाग्नका लागि प्रेरित गर्ने उद्धेश्यले सांस्कृतिक विद्यालय सञ्चालन गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर गोदार बताउँछन् ।

हुन त अहिलेका विद्यार्थी र अभिभावक आफ्नो संस्कृति भन्दा विदेशी संस्कृति र अंग्रेजी भाषाप्रति बढी मोह राख्छन् । तर विद्यार्थीले औपचारिक शिक्षापनि पाउने र संस्कृतिपनि संरक्षण हुनेहुँदा आफूहरुले सांस्कृतिक विद्यालय सञ्चालन गर्न लागेको विद्यालयका प्रधानाध्यापक दीपक सुबेदीको भनाई छ ।

जापानी प्रविधी र जापानी तरिकाबाटै शिक्षण हुने सांस्कृतिक विद्यालयमा अध्ययनरत विद्यार्थी विद्यार्थी पढाईबाट सन्तुष्ट रहेको बताउँछन् । पठनपाठनमासमेत उल्लेख्य सुधार आएको उनीहरुको भनाई छ ।


सांस्कृतिक विद्यालय सञ्चालनमा स्थानिय र विद्यालयको पहलकदमी भएपनि जापानको पीक एड फाउण्डेसन जापान र नोगुचीकेन जापानको आर्थिक सहयोग रहेको छ । त्यसमा विद्यालयका पूर्व विद्यार्थी उपकार थापाको होस्टेमा हैंसे रहेको छ ।

वैज्ञानिक शिक्षा नहुँदा नेपालका विद्यालय बेरोजगार उत्पादन गर्ने फ्याक्ट्री मात्र बनेको आरोप लाग्ने गरेको छ । तर यस विद्यालयले संस्कृति संरक्षणसँगै यसलाई व्यवसायीकरणबारे समेत अध्यापन गराएर दक्ष कामदार उत्पादन गर्न सके उदाहरणीय विद्यालय बन्नेमा कसैको दुईमत नरहला ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।