ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा एक महिलाको ज्यान गयो


     एभरेस्ट आवाज    
     पौष २३ गते २०७७ मा प्रकाशित




अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थकले गरेको हिंसात्मक प्रदर्शनको क्रममा गोली लागेर एक महिलाको ज्यान गएको छ।

ट्रम्प समर्थकले संसद भवन क्यापिट हिलभित्र गरेको प्रदर्शनलाई रोक्ने क्रममा नेशनल गार्डले गोली चलाउँदा प्रदर्शन गर्नेमध्येकै एक महिलालाई गोली लागेको हो।

गोली लागेपछि महिलालाई अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा ज्यान गएको बीबीसीले जनाएको छ। राष्ट्रपति चुनावको मत परिणाम उल्ट्याउने ट्रम्पको प्रयासले अमिरिकामा हिंसा मच्चिएको हो।

वासिङ्टनमा रहेको संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको थियो। यही बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडन विजयी भएको औपचारिक र कानूनी पुष्टि गर्ने कार्यक्रम थियो।

यसै क्रममा अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पका सयौं समर्थकहरु भेला भएर प्रदर्शन सुरु गरेका हुन्। प्रदर्शनकारी क्यापिटल हिलको विल्डिङभित्रै प्रवेश गरेर चुनाव रद्द गर्न माग गरेका थिए। झण्डै, तीन घण्टाको तोडफोड र हिंसात्मक प्रदर्शनपछि अहिले स्थिति सामान्य भएको छ।

अमेरिकामा भएको यो हिंसात्मक घटनाको चौतर्फी निन्दा भइरहेको छ। चुनावमा धाँधली भएको भन्दै ट्रम्पले विनाप्रमाण आफ्ना समर्थकलाई उक्साएको कारण त्यहाँ हिंसा फैलिएकाले अमेरिकी लोकतन्त्र विश्वसामु लज्जित बनेको टिप्पणी भइरहेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।