१० नेपालीले के टू हिमालको सफल आरोहण गरेर विश्व रेकर्ड बनाए


     एभरेस्ट आवाज    
     माघ ४ गते २०७७ मा प्रकाशित




पाकिस्तानमा रहेको के टू हिमालको सफल आरोहण गरेर १० जना नेपाली आरोहीहरुको समूहले विश्व कीर्तिमान बनाएका छन्।

अत्यन्तै खतरनाक मानिने के टू हिमालमा हिउँदयाममा अहिलेसम्म कोही पनि पुगेको थिएन।

सबैभन्दा कम समयमा विश्वका १४ वटै हिमाल आरोहणको रेकर्ड बनाएका आरोही निर्मल पूर्जासहितको टोली शनिबार बेलुकी सवा ५ बजे शिखरमा पुगेको टोलीमा सहभागी मिङ्मा डेभिड शेर्पाले जानकारी दिए।

८ हजार ६ सय ११ मिटर अर्थात् विश्वकै दोश्रो अग्लो के टू हिमालमा अहिले माइनस ६२ डिग्री सेल्सियस तापक्रम रहेको र प्रतिघण्टा एक सय किलोमिटरको गतिमा हावा चल्ने शेर्पाले बताएका छन्। उनले इन्स्टाग्राममा नेपालका लागि इतिहास बन्यो भनेर लेखेका छन्।

सफल आरोहणपछि आरोही निर्मल पूर्जाले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, ‘मानव जातिका लागि इतिहास बनाइयो ।’

के टू हिमालको सफल आरोहण गर्नेहरुमा आरोही निर्मल पूर्जासहित मिङ्मा डेबिट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहेका छन् । उनीहरु फरक–फरक तीनवटा आरोहण दलबाट गएका हुन्।

सबै, आरोही शनिबार १० बजे चौथो शिविर फर्किएका छन्। विगत ३४ वर्षयताको हिउँदयाममा के टू आरोहणका लागि कम्तीमा ४ वटा आरोहण दलका दर्जनौं आरोहीले प्रयास गरेका थिए तर उनीहरू के टू हिमालको ७ हजार मिटरभन्दा माथिको उचाईसम्म पनि पुग्न सकेका थिएनन्। के टू हिमाल आरोहणमा नेपाली टोलीले विश्व रेकर्ड बनाएको छ।

दश आरोहीमध्ये मिङ्मा जी शेर्पाले बिना अक्सिजन आरोहण गरेका छन्। सुरूमा तीन वटा समूहमा विभाजित पर्वतारोही अन्तिममा एकसाथ शिखर पुगेका थिए। चुचुरोको सय मिटर तल भेला भएर सबैजनाले एकैपटक चुचुरोमा पाइला टेकेका थिए।

२१ डिसेम्बरमा आधार सिविरतर्फ टोली प्रस्तान गरेको थियो। गत वर्ष पनि नेपाली शेर्पा टोली र विदेशी आरोहीले हिउँदमा के टू आरोहणको प्रयास गरेका थिए। तर, मौसम असहज बनेपछि उनीहरू करिब ६ हजार मिटरबाटै फर्केका थिए।

पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म जम्मा ३ सय ६ जनाले माउन्ट के टूको सफल आरोहण गरेका छन्। आरोहण क्रममा ८४ जनाको मृत्यु भएको छ।

माउन्ट के टूको आधार शिविर समुद्री सतहबाट ५ हजार १ सय १७ मिटर उचाईमा छ। आधार शिविरबाट अगाडि चारवटा क्याम्प पार गर्दै उचाइतर्फ पाइला चाल्नुपर्छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।